Sunday, September 27, 2026
Home पत्रपत्रिका नर्स बेलायत लैजाने प्रस्ताव मन्त्रिपरिषद्‍मा

नर्स बेलायत लैजाने प्रस्ताव मन्त्रिपरिषद्‍मा

122

काठमाडौं । बेलायत सरकारबाट माग भए बमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद्‍ प्रस्ताव पठाइएको छ। पछिल्लोपटक बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, नेसनल हेल्थ सर्भिसका प्रतिनिधि तथा काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको हो।

अब उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपश्चात् सम्झौताको टुंगो लाग्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–प्रवक्ता डा थानेश्वर भुसालले बताउनुभयो। ‘‘नर्सिङ जनशक्ति बेलायत पठाउने योजना अनुरुप समझदारी पत्र हस्ताक्षरका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाइएको छ। मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपश्चात् सम्झौताको टुङ्गो लाग्छ,’’ उहाँले भन्नुभयो।

श्रम सम्झौताका लागि मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्रै बेलायत जाने नर्सले के कस्तो प्रक्रिया पूरा गर्नुपर्ने भन्नेबारे पनि टुंगो लगाइने सहप्रवक्ता भुसालले प्रष्ट पार्नुभयो। बेलायत पठाउनका लागि ‘ह्युमन रिसोर्स म्यापिङ’ गरिएको र १५ हजार बेरोजगार नर्सिङ जनशक्तिमध्येबाटै पठाउने तयारी भएको उहाँको भनाइ छ। -गोरखापत्र अनलाइनबाट