दोस्रो हप्तामा प्रवेश ‘केजिएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’

126

बैशाख ११,

काठमाडौं : कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ दोस्रो हप्तामा प्रवेश गरेका छन्। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएका दुवै फिल्म बिहिबारदेखि दोस्रो हप्तामा प्रवेश गरेका हुन्। झरना थापाको निर्देशनमा बनेको फिल्मले दोस्रो हप्तामा प्रवेश गर्दै गर्दा आफ्नो लगानी सुरक्षित गरिसकेको छ। निर्माण टोलीका अनुसार फिल्मले तीन करोडमाथिको कारोबार गरिसकेको छ भने पछिल्ला दुई दिनको तथ्यांक आउन बाँकी छ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मले पहिलो दिन ८८ लाखको कारोबार गरेको थियो। केजिएफ जस्तो बहुप्रतिक्षित फिल्मसँग प्रदर्शन मिति जुद्धा पनि फिल्मले व्यावसायिक रूपमा राम्रो प्रदर्शन गर्नुलाई सकारात्मक रूपमा हेरिएको छ।

त्यस्तै, प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको ‘केजिएफ च्याप्टर २’ को दबदबा दोस्रो हप्तामा पनि कायम छ। भारती फिल्म उद्योगमा धेरै नयाँ कीर्तिमान बनाएको फिल्मको क्रेज नेपालमा पनि उल्लेखनीय देखिएको छ। पहिलो हप्तामा फिल्मका लगभग सबै शो हाउसफुल रहेका थिए। यशराजको मुख्य भूमिका रहेको फिल्मले पहिलो हप्तामा ६ अर्ब ७५ करोड माथिको कारोबार गरेको छ। ‘सञ्जु’, ‘पद्मावत’, ‘बाहुबलीः द बिगिनिङ’, ‘सुल्तान’ जस्ता फिल्मको लाइफटाइम बक्स अफिस कलेक्सनको किर्तिमान एक हप्तामै तोडेको ‘केजिएफ २’ अहिले भारतका सबैभन्दा सफल व्यावसायिक फिल्मको सूचीमा सातौँ नम्बरमा रहेको छ।