काठमाडौं । गत वर्षको व्यावसायिक सफल फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी ऊनको स्वीटर’को सिक्किमको युमथाङ उपत्यकाबाट छायांकन सुरु गरिएको छ । सोमबार लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो शट भारतीय कलाकार पीयूष मिश्रा र अभिनेता एलेक्स पारसले दिएका थिए । फिल्मको मुहूर्त समारोहमा सिक्किम फिल्म प्रवर्धन बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो । उनीहरूले फिल्म सफलताको शुभकामना दिँदै चर्चित फिल्मको सिक्वेलको छायांकन सिक्किममा हुन लागेकोमा खुसी व्यक्त गरे ।
नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन हुने फिल्ममा पीयूष र एलेक्ससँगै पहिलो भागका मुख्य जोडी विपिन कार्की (धरणीधर काफ्ले) र मिरुना मगर (फूल गुरुङ) पनि देखिनेछन् । फिल्ममा परीक्षा लिम्बू, टेरिया फौजा मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायतका कलाकारको समेत अभिनय रहनेछ । ‘ऊनको स्वीटर’बाट राष्ट्रिय अवार्ड जितेका नवीन चौहानको निर्देशनमा बन्ने फिल्ममा उनी स्वयंको लेखन रहेको छ । यो उनको दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा अभिषेक सुवेदी सह-लेखक तथा मुख्य सहायक निर्देशक (चिफ एडी)का रूपमा छन् भने छायांकनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन् । फिल्मका गीतमा कोविद बज्रको संगीत रहनेछ ।













