कविताः हराएको छु म

98

-विदुरप्रसाद तिमिल्सिना

फैलिएको कोरोना कहरमा
हराएको छु आजभोलि म
बाध्य छु बस्न गुप्तबास
आफ्नो सम्राज्य विश्वमा फैलाउन
माक्स, स्यानिटाइजरलाई विश्वास गर्दै
मानव मानव बीच पर्खाल बनेर
छिरेको छ मानव बस्ती
डरलाग्दो कोरोना कहर
उसैका कारण हराएको छु
मानव बस्तीबाट आजभोलि म ।

वादको पुच्छर समाती वैतर्णी तर्दा
सिनो वादलाई हालिएछ काँध
कस्तो तन्त्रमा गढेछ विश्वास
गलेर शरीर शिथिल हुँदा
पेट भर्न छैन चारो भने
लाज ढाक्न नसकेर तन्त्र
बन्दी बिताउन
हराएको छु बस्तीबाट म ।

स्वतन्त्रताको सङ्ग्राम लड्दा
स्वर्गीय कल्पनाको उडान भर्थे
मीठो स्वादमा सपना चिनेर
भोक प्यासको मेट्न खोज्दा तलतल
मिठा सपनामा अलमलिएछन्
बिउँझेर जगतलाई हेर्दा
भेटिन्छन् केवल आँसु मात्र
कुरुप स्वर्णिम सपनाका
महामारीले आक्रान्त जन ।

रैतीबाट माथि उठन नदिने
मेरो वाद र तन्त्रले कहिल्यै
दिएन नागरिक स्वतन्त्रता
नागरिक स्वतन्त्रताको मूल मन्त्र
केवल मात्र देख्छ सत्ता
सत्ता र यसको खेल भन्ने बुझ्न
लागेछ मलाई कयौँ दशक ।
आफूसङ्ग केही नहुँदा अहिले
रोग, भोक, अशिक्षा बेरोजगारीको
डरलाग्दो खाडलमा खसेर
हराएको छु आजभोलि
मानव बस्तीबाट म ।

-चाँगुनारायण-८, भक्तपुर