कविता: आधा पेट मेरो

264

-अनिल कसपाल
अाधा पेट मेरो, अाधा परिवारको
जसरी नि लिईछाड्छन् ,गरिब नेपालीको
हाम्रो अनि सन्ततिकाे ग्यारेन्टी देऊ
खुसीसँग दिन्छु सबै, पुकार सुनिदेऊ ।

करले हैन रहरले तिर्नुपर्ने कर
मास्छ भन्ने लाग्छ हामीलाई यही छ डर
याे देशमा छाेराछाेरी कसरी बाँच्ला ?
दुख गरि तिरेको कर कहाँ कहाँ जाला ?

बाटो हाे कि अहाल हाे छुट्याउन गाह्राे
हाम्रोमा बिकास हुने कहिले अाउँछ पालाे ?
हाम्रो बिन्ती सुन्दा पनि दिक्क लाग्छ हाेला
लाग्छ हामीलाई हाम्रो जीवन यसै बितिजाला ।

विषादी र प्रदुषणले राेग बढेकाेछ
अस्पताल भर्ना भए घरखेत जान्छ
ठूला भए सन्तति बिदेश जान्छु भन्छ
बुढाबुढी बुढेसकालमा घर न घाटकाे हुन्छ ।

नेपालीको सरकार हैन पार्टीको बन्छ
सरकार फेरेसँगै यहाँ नयाँ नीति अाउँछ
एउटा साेची काम गर्याे भाेलि अर्कै हुन्छ
डर लाग्छ कता कता भाेलि सबै डुब्छ ।
भक्तपुर