— सोम मिश्र
सन् १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खायो। समाजवादको किल्ला मानिएको सोभियत संघ मात्र ढलेन, धेरै कम्युनिस्ट पार्टीहरू विघटित भए, कैयौँलाई प्रतिबन्धित गरियो। केही देशमा जनता कम्युनिस्टहरूका विरुद्ध सडकमा पनि ओर्लिए। त्यसपछि कहलिएका बुद्धिजीवी फ्रान्सिस फुकुयामाहरूले “इतिहासको अन्त्य” लेखे। उनीहरूको निष्कर्ष थियो— “अब संसारमा कहिल्यै कम्युनिस्टहरूको पुनरोदय हुने छैन।”
तर नेपालमा त्यस्तो भएन। कमरेड मदन भण्डारीको नेतृत्वमा र उहाँकै प्रस्तावमा नेकपा एमालेले परिस्थितिको विश्लेषण गर्दै, नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली जनताका साथ नेपाली कम्युनिस्टहरूले खेलेको ऐतिहासिक भूमिकाको मूल्यांकन गर्दै नयाँ निष्कर्ष निकाल्यो। त्यो निष्कर्ष थियो— ‘ मार्क्सवादी विचारको विश्वव्यापी लोकप्रियताको आवरणमा एउटै प्रेस्क्रिप्सन संसारभरि मान्य हुँदैन। नेपालको विशेषताका आधारमा विचार, संगठन, कार्यशैली र नेतृत्व निर्माणमा पार्टीको लोकतान्त्रीकरण/पुनर्संयोजन गर्नुपर्छ’ ।
यस नवीन विचारलाई जननेता कमरेड भण्डारीले “जनताको बहुदलीय जनवाद” नाम दिनुभयो। नेकपा एमालेको पाँचौँ महाधिवेशनले यसलाई उत्साहपूर्वक पारित गर्यो। जबजलाई “नेपाली क्रान्तिको मौलिक विचार”, “मौलिक कार्यक्रम”, “मौलिक सिद्धान्त” हुँदै “नेकपा एमालेको मार्गदर्शक सिद्धान्त” का रूपमा विकास गर्दै लगियो। यही जबजको मार्गदर्शनमा नेकपा एमाले नेपाली जनताको दिलमा प्यारो पार्टीका रूपमा रहन सक्यो र देशको महत्त्वपूर्ण राजनीतिक शक्ति तथा रूपान्तरणकारी पार्टीका रूपमा पटक–पटक शासनको नेतृत्व गर्ने अवसर प्राप्त गर्यो।
तर अब परिस्थितिमा परिवर्तन आएको छ। ९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनमा लागेको झट्का साढे तीन दशकपछि नेपालमा आइपुगेको छ। यसलाई नजरअन्दाज गर्ने, अस्वीकार गर्ने र यथास्थितिमा रमाउने छुट अब एमालेलाई छैन। यसो गर्नु भनेको बचेखुचेको साखलाई समाप्तितिर जान दिनु र नेपाली कम्युनिस्ट आन्दोलन मृत्युशय्यामा पुगेको कुराको “गर्वका साथ” साक्षी बस्नु मात्र हुनेछ।
जसरी सोभियत संघलगायत विश्वका कम्युनिस्ट पार्टीहरू ढल्दा बाह्य प्रभाव, दबाब र हस्तक्षेप सहायक मात्र थिए; राज्य, जनता र पार्टी जीवनको आन्तरिक व्यवस्थापनमा अनेक कमजोरी थिए, तिनलाई अनदेखा गरियो, र त्यही निर्णायक कारण थियो भन्ने जबजको निष्कर्ष थियो। ठीक त्यसरी नै नेपाली कम्युनिस्ट आन्दोलनको प्रतिनिधि पार्टी नेकपा एमालेले अहिले खाएको धक्का हाम्रै आन्तरिक कारणको परिणाम हो भन्ने कुरा स्वीकार गर्नुपर्छ।
भाद्र २३ गते नवयुवाहरूले जायज माग र आफ्ना चासोका विषयमा उठाएको, तर अपराह्नपछि बाह्य निर्देशित हुन पुगेको जेन्जी आन्दोलन, हाम्रो राष्ट्रवादी अडान, सामाजिक सञ्जालको एल्गोरिदमले पारेको प्रभाव, राज्यका संयन्त्रहरूको असहयोग, भूराजनीतिक दाउपेच आदि सहायक कारण मात्र हुन सक्छन्। ती सबै कुरा हाम्रो अकुशल व्यवस्थापनले निम्त्याएका परिणाम मात्र हुन्। मुख्य र निर्णायक कुरा हामी आफैँभित्र थियो भन्ने कुरा बेहिचक स्वीकार गर्नुपर्छ। तब मात्र बदलिएको परिस्थितिमा हामीले पनि आफूलाई बदल्न सक्छौँ र नेपाली राजनीतिमा पुनरागमन गर्न सक्छौँ।
यहाँ हामीभित्रका कमजोरी चिरफार गर्ने वा समीक्षा गर्ने उद्देश्य होइन। अब नेकपा एमालेलाई पुनर्जीवित गर्ने र कसरी लोकप्रियताको उचाइमा उठाउने भन्ने विषयमा चर्चा गर्न खोजिएको हो।
वर्तमान अवस्थाबाट पार पाउन अहिले एमालेभित्र दुई विचार समूह उदाएका छन्। एउटा समूहले “पार्टीलाई विनाशको डिलसम्म पुर्याउने मुख्य पात्र लामो समयदेखि एकल नेतृत्व गर्दै आएका अध्यक्ष केपी ओली हुन्; उहाँलाई विस्थापन गरेपछि क्रमशः अरू कुरा मिल्दै जान्छ” भन्ने मान्यता राख्दै आफ्नो अभियान अघि बढाएको छ। यो समूहले पार्टी पुनरोदयको अचुक औषधि नेतृत्व परिवर्तनलाई ठानेको छ। यसैलाई यो समूहले पार्टी पुनर्गठनको एजेन्डा बनाएको देखिन्छ।
अर्को समूहले “यो निर्वाचन परिणाम एमालेको अस्थायी पराजय हो। माथि उल्लेख गरिएका बाह्य शक्तिको प्रभाव र दबाबले यो भएको हो। पार्टी अध्यक्षको लोकप्रियतामा कमी आएको छैन। नेतृत्वलाई अझै बलियो बनाउने, फरक मतलाई किनारा लगाउने र एकमना एकताका साथ पार्टीलाई पुरानै लयमा फर्काउने” भन्ने विचार राखेको छ। यो समूह यही अभियानमा निरन्तर अभ्यासरत छ।
मेरो विचारमा यी दुवै विचार समूह सही बाटोमा छैनन्। पार्टीलाई लयमा ल्याउन र फेरि पनि जनताको आशा–भरोशाको केन्द्र बनाउन पार्टीमा बहुआयामिक पुनर्गठनको आवश्यकता छ। सिद्धान्त: निरन्तर पुनरावलोकन र विकास गर्ने, व्यवहार: निरन्तर पुनरावलोकन र रूपान्तरण गर्ने, सिद्धान्त र व्यवहारको अन्तरसम्बन्ध: निरन्तर पुनरावलोकन र अद्यावधिक गर्दै जाने पार्टी मात्र ओजपूर्ण अस्तित्वमा रहिरहन सक्छ। यसका लागि विचारमा, केही सैद्धान्तिक–नीतिगत प्रश्नमा, नेतृत्वमा, नेतृत्व निर्माणको प्रक्रियामा, संगठन संरचनामा र कार्यशैलीमा पुनर्गठन आवश्यक छ। यी विषयहरू छलफलका लागि यहाँ अगाडि सारिएको छ।
१. विचारमा पुनर्गठन
क. नाम परिवर्तन
सामान्य रूपमा कम्युनिस्ट पार्टी मूलतः सर्वहारा श्रमजीवी मजदुर वर्गको प्रतिनिधि पार्टी हो। तर अभ्यासमा सर्वहारा वर्गको नाममा कम्युनिस्ट पार्टीको, कम्युनिस्ट पार्टीको नाममा केन्द्रीय समितिको, केन्द्रीय समितिको नाममा पोलिटब्युरोको, र कतिपय देशमा त पोलिटब्युरोको नाममा पार्टी अध्यक्ष वा महासचिवको एक–व्यक्ति तानाशाहीका रूपमा शासन गर्ने परम्परा बसालियो। जनता शासनमा सहभागी हुन पाएनन्; बरु निरीह दर्शक मात्र बनाइए। जनतामाथि नेताहरूको आकांक्षा लाद्ने काम भयो। त्यसकारण विश्वमा यो आन्दोलन लोकप्रिय हुन सकेन।
नेपालमा सर्वहारा वर्ग करिब छैन। औद्योगीकरणको विकास राम्रोसँग नभइसकेकाले मजदुर वर्गको संख्या पनि न्यून छ। त्यसको सानो अंश मात्र हाम्रो पार्टीमा संगठित छ। व्यवहारमा हाम्रो पार्टीभित्र निम्नमध्यम वर्ग, मध्यम वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, दलाल पुँजीपति चरित्र बोकेको व्यापारिक वर्ग, ठूलो संख्यामा किसान तथा मार्क्सको भाषामा व्यवस्थापकीय/प्रशासनिक कामदार अर्थात् “ह्वाइट कलर वर्कर” संगठित छन्। यिनै वर्ग पार्टीको निर्णायक स्थान र भूमिकामा छन्।
उनीहरूलाई राजनीतिक भूमिका नदिने हो भने यो पार्टी जनसमर्थन प्राप्त पार्टीका रूपमा रहन सक्दैन। भूमिका दिने हो भने यो पार्टी कम्युनिस्ट पार्टीका रूपमा रहिरहन सक्दैन। यो स्वतः वामपन्थी पार्टीमा रूपान्तरित हुन जान्छ। यही विरोधाभासका कारण पनि आज कम्युनिस्ट आन्दोलन धक्का खाएर पछारिएको छ। अब पछारिएको ठाउँबाट उठ्नुपर्छ, अघि बढ्नुपर्छ; तर पुरानो तरिकाले होइन, नयाँ तरिकाले। नयाँ रूपमा, नयाँ ढंगले, नयाँ वैचारिक–संगठनात्मक परिवर्तनका साथ अघि बढ्नुपर्छ।
उत्पादक शक्ति र उत्पादन सम्बन्धको परिवर्तनमा मद्दत पुर्याउने सबै वर्गको सहयोग लिनु आज हाम्रो राष्ट्रिय आवश्यकता हो। त्यसैले सिद्धान्त, कार्यक्रम र पार्टीको नाममा तादात्म्य ल्याउन हाललाई हामीले आफ्नो पार्टीको नाम बदलेर यसको चरित्रमा पनि केही परिवर्तन गर्न आवश्यक छ।
बदलिँदो विश्व र भूराजनीतिक दाउपेचका कारण पार्टीमाथि आइरहने आन्तरिक/बाह्य प्रहारलाई रोक्न सुरक्षा कवचका रूपमा पनि “कम्युनिस्ट पार्टी” को सट्टा नाम परिवर्तन गर्न आवश्यक देखिन्छ। जबजले मार्गदर्शन गरेका दीर्घकालीन/अल्पकालीन लक्ष्य, कार्यक्रम र कार्यदिशालाई बदल्न आवश्यक छैन। अर्कोतर्फ, कम्युनिस्ट पार्टीको नीति निजी सम्पत्ति र पुँजीको विकास होइन, निजी सम्पत्तिको सार्वजनिकरण/राज्यकरण गर्ने हो। तर हाम्रो पार्टीको हालको नीति त्यससँग मेल खाँदैन। पार्टीले राष्ट्रिय अर्थतन्त्रमा तीनखम्बे नीति लिएको छ— सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र। यो नीतिले पनि कम्युनिस्ट पार्टीको नामसँग तालमेल राख्दैन। अहिले मदन भण्डारी जीवित हुनुहुन्थ्यो भने “सार कायम राखेर रूपमा परिवर्तन गर्नुपर्छ” भन्नुहुन्थ्यो होला। आजको परिस्थितिमा त्यो भनेको नेकपा नाम र मार्गदर्शक सिद्धान्तमा केही परिवर्तन गर्नु नै हो।
अब भ्रम, पूर्वाग्रह वा पुराना जार्गनप्रतिको मोह त्यागेर नयाँ चिन्तन, नयाँ मान्यता र नयाँ शब्दावलीहरूको प्रयोग गर्दै अघि बढ्नुपर्छ। हाम्रो कार्यक्रम र पार्टीको नाममा सामयिक परिवर्तन गर्नु आवश्यक भइसकेको छ। पार्टीको नाम परिवर्तन भए पनि यो कम्युनिस्ट आन्दोलनकै निरन्तरताको श्रृंखला हो भन्ने बुझ्नुपर्छ। यसले आफ्नो क्रान्तिकारी सार र धारलाई कायम राख्दै केही रूपमा मात्र परिवर्तन गर्नेछ। “सुखी नेपाली, समृद्ध नेपाल” बनाउनु नै हाम्रो आन्दोलनको मुख्य उद्देश्य र गन्तव्य हो।
ख. मार्गदर्शक सिद्धान्तमा परिवर्तन
नेपाली पार्टीको मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद, लेनिनवाद वा माओवाद राख्ने कुरा २०औँ शताब्दीको औपनिवेशिक मनोविज्ञानको निरन्तरता हो। आफ्नो देशको बलियो सरकारसँग लड्न विदेशको शक्तिशाली शासनको सहारा लिने मनोवृत्तिभन्दा धेरै फरक होइन। पछिल्लो समयमा कैयौँ क्रान्तिकारी राजनीतिक दलहरूले लेनिनवादी सिद्धान्तबाट अलग हुने र लेनिनका सकारात्मक कामहरूबाट सिक्ने प्रयास गरिरहेका छन्। एक्काइसौँ शताब्दीमा कम्युनिस्ट आन्दोलनको स्वरूप परिवर्तन गर्न आवश्यक भएको छ। तत्कालीन सोभियत संघ तथा केही युरोपेली देशमा समाजवादी व्यवस्थाहरूको पतन, भूमण्डलीकरण, प्रविधिको तीव्र विकास र लोकतान्त्रिक समाजवादको उदयजस्ता विषयहरूले लेनिनवादलाई अहिलेको समयमा अप्रासंगिक बनाएका छन्।
लेनिनवादका केन्द्रीय विषयवस्तु र अहिलेको सन्दर्भ
अ. अग्रगामी राजनीतिक दल
लेनिनले मजदुर वर्गलाई संगठित गर्न, सचेत बनाउन र क्रान्ति सम्पन्न गर्न एउटा अनुशासित, केन्द्रीकृत क्रान्तिकारी पार्टी आवश्यक ठाने। तर आज मजदुर वर्ग स्वयं सचेत, संगठित र ट्रेड युनियनमार्फत सक्रिय छ। सूचना प्रविधि, सामाजिक सञ्जाल र स्वतन्त्र मिडियाले सर्वसाधारणलाई सचेत बनाएका छन्। नेपालजस्ता मुलुकमा किसानहरूको संख्या मजदुरभन्दा बढी छ, जसलाई लेनिनले पर्याप्त जोड दिन सकेका थिएनन्। नेपालका कम्युनिस्ट पार्टीहरूले पनि अब बहुदलीय व्यवस्था, आवधिक निर्वाचन र समावेशी लोकतन्त्रलाई आत्मसात गरिसकेका छन्। त्यसैले लेनिनको अग्रगामी पार्टीको अवधारणा आजको लोकतान्त्रिक सन्दर्भमा उपयुक्त छैन।
आ. जनवादी केन्द्रीयता
यसको सार हो— सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी, अल्पमत बहुमतको मातहत, तल्लो संरचना माथिल्लो संरचनाको मातहत र सबै केन्द्रीय कमिटीको मातहत। एकातिर यो सिद्धान्त व्यवहारमा केवल शक्ति केन्द्रीकरणमा परिणत भयो, जसले फरक विचारलाई दबायो। जनवादी केन्द्रीयताले पार्टीभित्र लोकतन्त्र कमजोर पार्ने र अधिनायकवाद जन्माउने जोखिम बढायो। अर्कोतिर, लेनिनवाद नमाने पनि सबै दलले बहुमत मान्ने र केन्द्र सर्वोच्च हुने कुरा मानेकै छन्, जुन लेनिन जन्मनुभन्दा पहिले नै अभ्यासमा थियो। आजको खुला बहस, बहुलवाद र प्रविधिको युगमा यो सान्दर्भिक देखिँदैन।
इ. साम्राज्यवाद पुँजीवादको उच्चतम रूप
लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम रूप धारण गरेको ठाने। उनका अनुसार पुँजीपतिहरू नयाँ बजार कब्जा गर्न युद्ध र उपनिवेशवादतर्फ लाग्छन्। तर आजको पुँजीवाद बहुराष्ट्रिय कम्पनी, डिजिटल बजार, ऋण साम्राज्यवाद, IMF, World Bank वा Google, Meta, Amazon जस्ता टेक कम्पनीमार्फत चल्छ। यसले प्रत्यक्ष उपनिवेश होइन, नीतिगत नियन्त्रण र आर्थिक प्रभुत्व खोज्छ। आधुनिक पुँजीवादले सामाजिक उत्तरदायित्व, हरित लगानी र सामाजिक न्यायजस्ता विषयमा समेत ध्यान दिन थालेको छ। त्यसैले आज पुँजीवादको रूप फरक भइसकेको छ र कम्युनिस्ट दृष्टिकोण पनि पुनर्विचार गर्नुपर्ने भएको छ।
ई. सर्वहारा वर्गको अधिनायकत्व
लेनिनको विचारमा राज्य भनेकै एक वर्गले अर्को वर्ग माथि अधिनायकत्व कायम ( दमन) गर्ने यन्त्र हो | लेनिनले श्रमिक वर्गले सत्ता लिएर पुँजीपति वर्गलाई दमन गर्नुपर्ने र त्यसपछि समाजवाद हुँदै साम्यवादमा जानुपर्ने बताए। तर “अधिनायकत्व” भन्ने शब्द नै आज तिरस्कृत छ। यो एकदलीयता, विपक्षविहीनता र दमनसँग जोडिन्छ। आजको सर्वहारा वर्ग पनि जटिल छ— डिजिटल श्रमिक, अस्थायी जागिरे, वर्क–फ्रम–होम कर्मचारी आदि। श्रमिकलाई एउटै वर्गका रूपमा परिभाषित गर्न गाह्रो छ। त्यसैले अधिनायकत्वको अवधारणा आज सान्दर्भिक छैन।
उ. क्रान्तिकारी सिद्धान्त र अभ्यास
लेनिनले मार्क्सवादलाई व्यवहारमा उतार्दा नयाँ सैद्धान्तिक प्रयोग पनि गरे। २३०० अनुशासित क्याडरसहित रूसी साम्राज्यजस्तो विशाल मुलुकमा क्रान्ति सम्पन्न गर्नु ऐतिहासिक उपलब्धि थियो। आलोचकहरुका अनुसार ‘लेनिनको कुनै सिद्धान्त थिएन | रुसी क्रान्ति सम्पन्न गर्न अर्को भाषामा सत्ता कब्जा गर्न जे जे आवस्यक देखे त्यहि गर्दै गए र त्यसैलाई सिद्धान्तको लेप लगाई दिए’ | त्यो पनि १०० वर्षअघिको समाज थियो। आज प्रविधि, सञ्चार, लोकतन्त्र र मानव अधिकार जस्ता विषय आधाभुत रुपमै सबै फरक छन्। त्यसैले लेनिनको अभ्यासबाट सकारात्मक पक्ष सिक्न सकिए पनि फोटोकपी गर्न सकिँदैन।
ऊ. वर्ग संघर्ष
लेनिनकालीन युरोपमा ठूलो संख्यामा औद्योगिक मजदुर थिए। उनीहरूको साझा समस्याले वर्ग संघर्षलाई स्पष्ट बनायो। आज भने मजदुर वर्गको स्वरूप विविध छ। धेरै श्रमिक आंशिक रूपमा लगानीकर्ता पनि छन्। ह्वाइट कलर कामदार र वर्क–फ्रम–होम सेवाहरूले वर्गीय विभाजनलाई धुमिल बनाएका छन्। त्यसैले आजको वर्ग संघर्ष केवल श्रमिक–पुँजीपति बीच सीमित छैन; बरु पहिचान, वातावरण, लैंगिकता र सामाजिक न्यायसँग पनि जोडिएको छ।
ए. संशोधनवादको विरोध
लेनिनले संशोधनवादलाई मार्क्सवादको आत्मा कमजोर पार्ने विचार ठाने र बर्नस्टिनजस्ता समाजवादीहरूको आलोचना गरे। लेनिनका अनुसार समाजवाद केवल सशस्त्र क्रान्तिबाट मात्र सम्भव थियो। तर आज शान्तिपूर्ण बाटो, संविधानवाद, आवधिक निर्वाचन, कानुनी संरचना र सामाजिक आन्दोलनमार्फत समाजवादी मूल्यहरू— न्याय, समानता, शिक्षा, स्वास्थ्य आदि— अगाडि बढिरहेका छन्। त्यसैले यो दृष्टिकोण अब व्यवहारिक छैन। यी विषयवस्तुलाई संशोधनवादको विल्ला लगाई दिएर पन्छिन सकिदैन |
ऐ. राज्य र क्रान्ति
लेनिनले राज्यलाई “वर्ग दमनको यन्त्र” भने। संसदप्रति अविश्वास, सर्वहारा अधिनायकत्वको वकालत र अन्ततः राज्य विघटन उनको तर्क थियो। आज राज्य नागरिक अधिकार, शिक्षा, स्वास्थ्य र समावेशिताको संरक्षक संस्था पनि हो। आजको माग उत्तरदायी, लोकतान्त्रिक, लोककल्याकारी राज्य हो, राज्यको अन्त्य होइन। महिलादेखि अल्पसंख्यक र LGBTQIA+ समुदायसम्मको संघर्ष केवल वर्गीय दृष्टिले मात्र बुझ्न सकिँदैन।
ओ. अन्तर्राष्ट्रियवाद
लेनिनको अन्तर्राष्ट्रियवाद मूलतः रूस–केन्द्रित दृष्टिकोण ( Russification ) थियो। अर्को अर्थमा यो स्टालिनले विकास गरेको ‘रातो खलिफात’ ( Red Caliphate ) थियो | चीनले यसलाई अस्वीकार गर्यो, विवाद बढ्यो र १९४३ मा स्टालिनले Comintern नै विघटन गरे। यसरी लेनिनको अन्तर्राष्ट्रियवाद पनि सफल हुन सकेन।
औ. आर्थिक योजना
लेनिनले युद्धकालीन समाजवादअन्तर्गत उद्योग राष्ट्रियकरण र निजी स्वामित्व अन्त्य गरे, तर उत्पादन घट्यो र भोकमरी भयो। त्यसपछि उनले नयाँ आर्थिक नीति ल्याए, जसले सानो निजी व्यापारलाई अनुमति दियो। तर यो पनि अस्थायी मात्र भयो। स्टालिनले पञ्चवर्षीय योजना र सामूहिक खेती लागू गरे, तर यसले दीर्घकालीन आर्थिक गतिहीनता हटाउन सकेन र अन्ततः सोभियत संघको पतन निम्त्यायो।
त्यसकारण तत्कालीन सोभियत कम्युनिस्ट पार्टी र लेनिनका सकारात्मक कामबाट सिक्नुपर्छ। तर आजको युगमा लेनिनवाद असान्दर्भिक भइसकेको कुरा बुझ्नुपर्छ र मार्गदर्शक सिद्धान्तबाट हटाउनुपर्छ।
२. नेतृत्वमा पुनर्गठन
हाम्रो पार्टी अध्यक्ष कमरेड केपी ओली १२ वर्षदेखि शीर्ष स्थानमा हुनुहुन्छ। पार्टीको त्यसअघिदेखि पनि करिब तीन दशक यता निर्णायक तहमा उहाँ रहनुभएको छ। उहाँका हजारौँ सकारात्मक पक्ष छन्। उहाँले आन्दोलनलाई पुर्याउनुभएको योगदान अविस्मरणीय छ। तर उहाँ पनि एक व्यक्ति भएकाले उहाँका कमजोरीहरू पनि छन्। यतिबेला ती कमजोरीहरू जनताको नजरमा परिरहेका छन्।
कुनै बेला ठूलो समूह “आई लभ यू केपी ओली” भन्ने अवस्थामा थियो। आज त्यही समूह, आम नागरिकसहित, उहाँबारे फरक धारणा व्यक्त गरिरहेको छ। बुद्धिमत्तापूर्ण कुरा के हुन सक्थ्यो भने, जतिबेला उहाँ लोकप्रियताको उचाइमा हुनुहुन्थ्यो, त्यहीबेला उहाँले अवकाश लिनुभएको भए आज देशमा उहाँका दर्जनौँ सालिक बनिरहेका हुन्थे। पुस्तौँसम्म उहाँको इतिहास प्रशंसनीय रहन्थ्यो। तर उहाँले अवकाश लिनुभएन वा लिन दिइएन।
पटक–पटक पराजित भएको टिम क्याप्टेनले अर्को खेल जिताउँछ भनेर कसले विश्वास गर्न सक्छ? यस्तो अवस्थामा कप्तान परिवर्तन गरिन्छ। अब थप रूपमा उहाँको व्यक्तित्व र नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षति हुन नदिन उहाँको सम्मानजनक अवकाश हुनुपर्छ वा बिदा दिनुपर्छ।
३.नेतृत्व निर्माणको प्रक्रियामा पुनर्गठन
अब पार्टीले योग्यता–आधारित घुम्ती नेतृत्व प्रणालीको अवलम्बन गर्नु पर्छ | यो मोडेलमा कार्यकर्ता वा नेताहरूलाई योग्यता, क्षमता र अनुभवका आधारमा खास समयका लागि नेतृत्वमा निर्वाचित गरिन्छ। प्रमुख कार्यकारी पदको मात्र नभई सदस्यको समेत कार्यावधि तोकिनुपर्छ। तोकिएको समय पूरा भएपछि उसलाई अर्को कार्यक्षेत्रको जिम्मेवारी दिइन्छ। उक्त स्थानमा दोस्रो व्यक्ति आउँछ। दोस्रोलाई पनि सोही तरिकाले बिदा गरिन्छ र तेस्रो आउँछ। यसरी रोटेसनका आधारमा नेतृत्व चयन गरिन्छ र कामको विभाजन गरिन्छ।
खास समय माथिल्लो समितिमा बसेर काम गरिरहेको व्यक्तिलाई समयावधि तोकेर तल्लो तहहरूमा पनि काममा खटाउने र मेरिटका आधारमा जिम्मेवारी घुमिरहने व्यवस्था गर्नुपर्छ। उदाहरणका लागि, दुई कार्यकाल केन्द्रीय कमिटी सदस्य भएको व्यक्ति तेस्रोपटक या त पदाधिकारीमा निर्वाचित हुन्छ, नभए प्रदेश वा जिल्ला कमिटी सदस्य भएर काम गर्छ।
“सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी” को अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने यो मोडेल हुन सक्छ। यस मोडेलमा मतदातामा मनोवैज्ञानिक थकान हुँदैन। व्यक्ति नियमित रूपमा परिवर्तन हुन्छन्। को कति समय रहन्छ, त्यसपछि को आउन सक्छ र उसको अर्को कार्यक्षेत्र के हुन्छ भन्ने कुरा सामान्यतः पूर्वानुमान गर्न सकिन्छ। त्यसैले यो मोडेल लोकप्रिय हुन सक्छ।
यो प्रणाली मूलतः क्षमता र योग्यता, अर्थात् व्यक्तिको वैज्ञानिक/पारदर्शी स्वमूल्यांकनका आधारमा तोकिएको समयका लागि मात्र प्राप्त हुने भएकाले यसलाई “अवसरको समानता” सँग जोडेर हेर्न सकिन्छ। यसले राजनीतिभित्रका नातावाद, वंशवाद र गुटगत गतिविधिहरूलाई चुनौती दिन्छ। यो प्रणालीको वैधानिक व्यवस्था गरिनुपर्छ।
४. संगठन संरचनामा पुनर्गठन
क. पार्टी संगठनलाई पनि शक्ति पृथकीकरणको सिद्धान्तबाट सञ्चालन गरिनुपर्छ। केन्द्रीय कमिटि, प्रतिनिधि परिषद,न्यायिक/सुशासन आयोग | केन्द्रीय कमिटीको कामको अनुगमन, मूल्यांकन र आवश्यकता परे दुईतिहाइ बहुमतले पदाधिकारी/सदस्य हेरफेर गर्न सक्ने, महाधिवेशनप्रति उत्तरदायी प्रतिनिधि परिषद् गठन गरिनुपर्छ। त्यस्तै, अनुशासनका मुद्दा र पार्टीभित्रको न्यायिक निरूपण हेर्न, अनुसन्धान गर्न र अन्तिम निर्णय गर्ने अधिकारसहितको सुशासन/न्यायिक आयोग बनाइनुपर्छ। यो आयोग केन्द्रीय कमिटीप्रति होइन, महाधिवेशनप्रति उत्तरदायी हुनुपर्छ। जसकसैलाई पनि अनुशासन, भ्रष्टाचार वा अनियमितताको छानबिन र कारबाही गर्ने अधिकार यस आयोगलाई हुनुपर्छ। यसले Ethics Council, Ombudsman र Whistleblower Protection Theory को पालना र कार्यान्वयन गर्नुपर्छ। Feedback channel, hotline, online portal जस्ता व्यवस्था पनि गर्नुपर्छ।
ख. राज्यका निर्वाचन हुने संरचना र पार्टीको कार्यनीतिसँग मेल नखाने संगठन/संरचनालाई समन्वय कमिटी बनाउने र जुन–जुन तहमा निर्वाचन हुन्छ, त्यही तहमा कार्यकारी कमिटी बनाउने गरी विधान संशोधन गरिनुपर्छ।
ग. पार्टीबाहिर रहेका प्रतिष्ठित, क्षमतावान् र युवा पंक्तिलाई आकर्षित गर्न तथा अवसरको वितरणमा नयाँ र पुरानाबीच भेदभाव नहुने कुराको ग्यारेन्टी गर्न पार्टी विधानको धारा ६३ र सोसँग सम्बन्धित नियमावली खारेज गरिनुपर्छ।
घ. सबै तहका सदस्यसहित कार्यकारी पदहरूमा बढीमा दुई कार्यकालको व्यवस्थालाई स्पष्ट र कडाइका साथ कार्यान्वयन गरिनुपर्छ।
ङ. नीतिगत मूल्यांकन, अनुसन्धान तथा नीतिगत पृष्ठपोषणका लागि महाधिवेशनअन्तर्गत रहने गरी Policy Lab/Think Tank Group गठन गर्नुपर्छ।
च. निर्वाचनमा अवसर अर्थात् टिकट वितरण गर्दा आन्तरिक निर्वाचन विधि अर्थात् primary अपनाइने कुराको वैधानिक व्यवस्था गर्नुपर्छ। यो व्यवस्था लागू गर्न अब ढिलो गर्नु मनासिब हुँदैन।
छ. कुनै संगठित सदस्य एक वर्षसम्म पनि कुनै कमिटीमा सामेल नभए, विगतमा नेतृत्वदायी भूमिकामा रहेको भए पनि स्वतः पार्टी सदस्यमा रूपान्तरण हुनेछ। तर उसलाई कुनै न कुनै कमिटीमा संगठित गर्न र खास कामको जिम्मेवारी दिनु सम्बन्धित कमिटीको कर्तव्य हुनेछ। त्यस्तो अवस्थामा संगठित हुन र जिम्मेवारी लिन तयार भएका सदस्यहरूले आफ्नो तहको कमिटीमा निवेदन दिएमा सम्बन्धित कमिटीले अनिवार्य रूपमा वडा, शाखा, टोल, उपटोल वा कुनै जनसंगठनमा संगठित गर्नुपर्छ। त्यस्तो निवेदन प्राप्त भएको मितिले तीन महिनासम्म पनि संगठित नगरे माथिल्लो कमिटी वा अनुशासन आयोगमा उजुरी लाग्न सक्नेछ। निवेदन दिएर पनि कमिटीले जिम्मेवारी नदिएमा त्यस्तो व्यक्तिको संगठित सदस्यता कायम रहनेछ। जिम्मेवारी नदिने कमिटीलाई माथिल्लो कमिटीले स्पष्टीकरण सोध्नेछ। कमिटीले दिएको जुनसुकै तहको जिम्मेवारीमा बस्नु सदस्यको कर्तव्य हुनेछ। अन्यथा संगठित सदस्यता स्वतः समाप्त हुने व्यवस्था गरिनुपर्छ। संगठित सदस्य, अर्थात् कुनै कमिटीको जिम्मेवारीमा बसेको सदस्यलाई मात्र अधिवेशन आदिमा चुन्ने र चुनिने अधिकार हुनेछ।
५. कार्यशैलीमा पुनर्गठन
अ. प्रत्येक सदस्यको डिजिटल तथ्यांक राख्ने।
आ. सदस्यहरूबाट सोहीअनुसार अभिमत/feedback प्राप्त गर्ने।
इ. Data Driven Campaigning मा भरोसा गर्ने।
ई. पार्टी निर्माण र प्रचार अभियानमा सामाजिक सञ्जाल, जस्तै TikTok, YouTube, Facebook आदि प्रयोग गर्ने र स्थानीय story हरू जोडेर भावनात्मक बनाउने।
उ. प्रत्येक कमिटीमा गलत, भ्रामक वा दुष्प्रचारविरुद्ध तुरुन्त प्रतिक्रिया दिने Quick Position Clear Team अनिवार्य बनाउने।
ऊ. युवाहरूलाई Online Discussion र Virtual Townhall जस्ता माध्यमबाट जोड्ने र क्रियाशील बनाउने।
ए. सबै सदस्यलाई डिजिटल साक्षर बनाउने।
ऐ. नागरिक गुनासोका लागि २४/७ helpline वा कुनै online platform सञ्चालन गर्ने।
ओ. डिजिटल इकोनोमी र e-Governance कार्यान्वयनमा प्रतिबद्ध रहने।
औ. नेता–कार्यकर्ताहरूको जीवनयापन, आर्थिक स्रोत वा पेशा पारदर्शी हुनुपर्ने।
अं. सबैले निश्चित समय अनिवार्य श्रम गर्ने नियम बनाउने।
अः. हरेक फाँट र कार्यक्षेत्रमा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य परिभाषित जिम्मेवारी दिने र कामको आवधिक प्रतिवेदन सोहि र एक तह माथिल्लो कमिटीले अनिवार्य प्राप्त गर्ने।
क. पार्टी सदस्यहरूका लागि नियमित वैचारिक प्रशिक्षणसँगै पारदर्शी जीवनशैली, इमानदारी, डिजिटल साक्षरता र नेतृत्व विकास तालिमको व्यवस्था गर्ने।
ख. पार्टी विद्यालयहरूमा सेवा, बलिदान र स्वच्छ शासनको मूल्य प्रवर्द्धन गर्ने शिक्षा दिने।
ग. सफा रेकर्ड भएका नेताहरूलाई प्रशंसा वा पार्टीमा थप जिम्मेवारीमार्फत पुरस्कृत गर्ने।
घ. नेताहरूले प्रत्यक्ष रूपमा जनतासँग भेट्ने गरी नियमित “Meet the People” र “Meet the Press” जस्ता कार्यक्रम आयोजना गर्ने।
ङ. जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले आफ्ना काम र उपलब्धिको नियमित प्रतिवेदन प्रकाशित गर्ने।
च. जनविश्वास कायम गर्न अनुशासनात्मक निर्णयहरूको सार्वजनिक घोषणा गर्ने।
छ. “पारदर्शी राजनीतिक दल र निर्वाचन वित्त नियमन” अर्थात् Transparent Political Party and Election Financing Regulation को पालना गर्ने।
ज. फरक विचार र प्रतिस्पर्धीलाई पनि सम्मान गर्ने, अस्तित्व स्वीकार गर्ने, बहसलाई लोकतान्त्रिक र खुला गर्ने , पार्टीको निर्णयलाई एकरूपताका साथ कार्यान्वयन गर्ने |
झ. दैनिक व्यक्तिगत/पारिवारिक जीवन सञ्चालनको स्पष्ट आर्थिक स्रोत/पेशा हुनुपर्ने। यसका लागि एउटा फर्म्याट/टेम्प्लेट बनाउने र सम्बन्धित कमिटीका अरू सदस्यहरूले गोप्य रूपमा वस्तुगत आधारमा मूल्यांकन गर्ने व्यवस्था गर्ने।
ञ. सजिलो काम साथीलाई दिने र गाह्रो कामको जिम्मेवारी आफू लिन तयार रहने।
६. सुशासन र पारदर्शिता
नेकपा एमालेले आन्तरिक पार्टी जीवनमा सुशासन र पारदर्शिताका लागि गर्ने प्रतिबद्धता:
अ. पार्टीको प्रतिबद्धता
– पार्टी वित्तको स्वतन्त्र तथा महालेखाले तोकेको परीक्षकबाट लेखापरीक्षण गराइनेछ सो वार्षिक प्रतिवेदन सार्वजनिक गरिनेछ।
– चुनावी चन्दा सीमित गर्ने र दाताहरूको नाम खुलाउने व्यवस्था गरिनेछ।
– अवैध वा नियमनविहीन विदेशी स्रोतबाट चन्दा लिइनेछैन।
– “पारदर्शी राजनीतिक दल र निर्वाचन वित्त नियमन ( Transparent Political Party and Election Finance Regulation )” को पालना गरिनेछ।
– संयुक्त राष्ट्र भ्रष्टाचारविरुद्धको महासन्धि, UNCAC, सँग मेल खाने व्यवस्था गरिनेछ।
– वैश्विक उत्कृष्ट अभ्यासहरू, जस्तै खुला ठेक्का प्रक्रिया र e-Governance, अपनाइनेछ।
– निगरानी निकाय, नागरिक समाज र स्वतन्त्र सञ्चारमाध्यमसँग सहकार्य खोजिनेछ।
आ. नेतृत्वको प्रतिबद्धता
– पार्टी अध्यक्ष र शीर्ष पदाधिकारीहरूले ‘नेतृत्व इमानदारी प्रतिज्ञापत्र’ मा अनिवार्य हस्ताक्षर गर्नेछन्।
– प्रत्येक वर्ष आफ्नो खर्च र आम्दानीको हिसाब सार्वजनिक गरिनेछ।
– “नियमित अडिटसहितको सम्पत्ति घोषणा प्रणाली” को सिद्धान्त लागू गरिनेछ।
– यसरी सार्वजनिक गरिएको हिसाबमा सार्वजनिक रूपमा प्रश्न उठेमा सम्बन्धित राज्य संयन्त्रले तोकेको निकायले अडिट गर्न स्वीकृति दिइनेछ ।
– सबै तहका नेताहरूको सरल जीवनशैली रहनेछ अथवा पार्टी वा राज्य स्रोतको विलासी दुरुपयोग गरिनेछैन।
– स्वार्थ–संघर्ष अर्थात् conflict of interest सम्बन्धी कडा नियम लागू गरिनेछ। नेताहरूले आफन्त वा सम्बन्ध जोडिएकालाई ठेक्का, नियुक्ति वा मनोनयन दिन पाउनेछैनन्।
इ. सबै सदस्यहरूका लागि आचारसंहिता
– घूस, मत किनबेच र पार्टी/राज्य स्रोतको दुरुपयोगमा प्रतिबन्ध लगाइनेछ।
– पार्टी विधान र लोकतान्त्रिक निर्णयको सम्मान गरिनेछ।
– आचारसंहिता उल्लंघन गर्नेहरूलाई सजाय दिइनेछ।
– पार्टी विधान, आचारसंहिता र निर्णयको पूर्ण पालना गरिनेछ।
अनुसूची–१ (नमुना)
नेकपा एमाले …….. कमिटीका …….. खटिएका सदस्यहरूको TOR
१. कार्यक्षेत्रभित्रका अधिवेशनहरू र कमिटीको गठन/पुनर्गठनलाई नियमित गर्ने।
२. कार्यक्षेत्रभित्रका कमिटीहरूको बैठक नियमित गर्न सहजीकरण गर्ने।
३. कमिटीका सदस्यहरूको कार्यविभाजन गर्न सहजीकरण गर्ने र प्रतिवेदन लिने।
४. माथिल्लो कमिटीबाट प्राप्त निर्देशनहरू आफ्नो क्षेत्रमा कार्यान्वयन गर्न बैठकमा प्रस्तुत गर्ने।
५. कार्यक्षेत्रभित्रका कमिटी/इकाई संख्या यकिन गर्ने र अधिवेशन/भेलाहरू नियमित गर्ने।
६. आफ्नो कार्यक्षेत्रभित्र सम्भव भएसम्म सबै जनसंगठनहरूको सम्मेलन/बैठकमार्फत संगठनहरूलाई क्रियाशील बनाउने।
७. कार्यक्षेत्रभित्रका पार्टी सदस्यहरूको नियमित नवीकरण, अभिलेखीकरण र नयाँ सदस्यहरूको सिफारिस गर्न सहजीकरण गर्ने।
८. आफ्नो कार्यक्षेत्रका सबै पार्टी सदस्यहरूलाई कम्तीमा वर्षमा दुई दिन राजनीतिक/वैचारिक विषयमा प्रशिक्षित गर्ने वातावरण मिलाउने।
९. कार्यक्षेत्रभित्र आन्तरिक अन्तरविरोध वा समस्या देखिएमा समयमै समस्या समाधान बैठक/छलफल आयोजना गर्ने।
१०. कार्यक्षेत्रभित्रका जनसरोकारका मुद्दाहरू पहिचान गर्ने, सम्बन्धित निकायमा प्रस्तुत गर्ने र माग पूरा गर्न जनपरिचालन गर्ने।
११. कार्यक्षेत्रभित्र वृक्षारोपण, रक्तदान, विचार गोष्ठी, शुभकामना आदानप्रदान, सम्मानजस्ता विविध रचनात्मक काम गर्ने र कार्यकर्ता/सदस्य परिचालन गर्ने।
१२. निर्वाचनका बेला पार्टी र जनपरिचालन गर्ने।
१३. आफूले गरेका कामको मापन हुने गरी नियमित स्वमूल्यांकन
प्रतिवेदन बुझाउने।
अनुसूची २ (नमुना )
……कार्यक्षेत्र भएका ……..कमिटिका सदस्यले बुझाएको आवधिक/ स्वमुल्यांकन प्रतिबेदन
८० -१००% अतिउत्तम, ६०-८०% उत्तम,४०-६०% सामान्य, २०-४०% कमजोर, २०% तल खराब
१ मेरो कर्यक्षेत्रको कमिटिको बैठक संख्या मेरो उपस्थिति संख्या
२ कार्यक्षेत्रभित्र कतिवटा कमिटि/इकाई छन् कतिवटामा अधिबेसन भए \ कमिटि बने
३ कार्यक्षेत्रभित्र जनसंगठन कति छन् जस मध्ये अधिबेसन \ बैठक गर्ने कति
४ कार्यक्षेत्रभित्र कुल पार्टी सदस्य संख्या नबिकृत संख्या
५ कार्यक्षेत्रभित्रको कुल मतदाता संख्या नयाँ सदस्यता शिफारिश संख्या
६ आफु इन्चार्ज/प्रमुख भएको कमिटिको कार्यक्रम भएको संख्या आफु उपस्थित भएको संख्या
७ आफु इन्चार्ज/प्रमुखभएको कमिटका बैठक संख्या आफ्नो उपस्थिति संख्या
८ म संगठित कमिटिको बैठक संख्या मेरो उपस्थिति संख्या
९ म संगठित कमिटिको कार्यक्रम संख्या मेरो उपस्थिति संख्या
१० म संगठित कमिटीमा लेवी तिरेको महिना तिर्न बाँकि महिना
११ जिम्मेवारी लिएको \ अघिल्लो प्रतिबेदन यता जम्मा दिन कर्यक्षेत्रमा \ पार्टी काममा लगाएको जम्मा दिन
प्रतिबेदन बुझाउनेको: नाम ……………………….. हस्तक्षर्…………………… मिति …………………..














