काठमाडौं । आफ्नो नीजि जिवासमा छापा मारिएको प्रति बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको यस्तो भनाई सार्वजनिक भएको छ ।
विज्ञप्ति
आफ्नो जीवनको महत्त्वपूर्ण ऊर्जाशील समय युवा देखि विद्यार्थी अवस्था हुँदै चालिस वर्ष भन्दा लामो राजनीतिक यात्राका कैयौँ आरोह अवरोह पश्चात् हाल म बागमती प्रदेश सरकारको सरकार प्रमुखको रूपमा जनताको सेवक भई मुख्यमन्त्रीको पदमा रहेको सम्पूर्ण नागरिकलाई सर्वविदितै छ ।
आज मिति २०८३ साल वैशाख २१ गतेका दिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित मेरो घर एवं विगतमा म समेत संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ। म बागमती प्रदेशको मुख्यमन्त्री भएपछि मेरो प्रमुख प्राथमिकता नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाजको निर्माण रहेको सबैलाई जानकारी नै छ। सोही अनुसार मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको छु। आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बेहोरा सबैको जानकारीमा छ।
तीन तहको सरकारमध्ये प्रदेश सरकारको सरकार प्रमुख मुख्यमन्त्री हो। तीन तहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ। सङ्घीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रूपमा मुख्यमन्त्रीको सधैं साथ रहन्छ। राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्न चाहन्छु। राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु। तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्र माथि आघात पुगेको महसुस भएको छ। राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारी प्रति आपत्ति जनाउँदछु।
अन्त्यमा, राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेश बासी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्दछु। म यहाँहरूको सेवामा सधैं तत्पर रहनेछु। जय नेपाल !
विक्रम सम्वत् २०८३ वैशाख, २१
नेपाल सम्वत् ११४६ बछलागा तृतिया
इन्द्रबहादुर बानियाँ
मुख्यमन्त्री













