महामारीमा पिल्सिँदैछन्‌ कुखुरापालक किसान

210

जेठ ६,

कञ्चनपुर : कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌।

उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ।

‘कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी लगायत आपूर्ति हुन नसक्दा अप्ठेरो परेको छ,’ किसान पोल्ट्री सप्लायर्सका सञ्चालक किरण साउदले भने, ‘उपभोक्ताहरू समेत स्वच्छ र ताजा कुखुराको मासु पाउनबाट बञ्चित भएका छन्‌।’

धेरै व्यवसायीहरूले बैंक तथा सहकारी संस्थाबाट ऋण निकालेर कुखुरा व्यवसाय गरेको, तर कुखुरा र अण्डा बजारमा बिक्री हुन नसकेपछि धेरै जनाले व्यवसाय नै छाड्न थालेको साउदले बताए।

लेयर्स जातका कुखुरापालन गर्दै आएका व्यवसायी रेवन चौधरीले बन्दाबन्दी भएपछि अण्डाको व्यापार घट्दै गएको बताए। ‘होटेलहरू सञ्चालन हुँदा अण्डा स्थानीय बजारमा खपत हुन्थ्यो,’ उनले भने, ‘होटेल लगायतको व्यवसाय बन्द भएपछि अण्डाको व्यापार समेत खस्कँदै गएको छ।’

अण्डा बिक्री नहुँदा घरमै थन्क्याउने अवस्था आएको, कुखुराको आहारा र औषधीका लागि मात्रै लगानी बढाउनुपरेको र लागत खर्च निकै बढ्दा घाटा हुने अवस्थामा पुग्दा कुखुरापालन व्यवसाय नै छाड्नुपर्ने अवस्थामा आफूहरू पुगेको उनले बताए।

खाद्यान्न र तरकारी लगायत अत्यावश्यक खाद्यवस्तु जस्तै कुखुराको मासु र अण्डा बिक्रीका लागि समेत स्थानीय प्रशासनले व्यवस्था मिलाइदिनुपर्ने व्यवसायीहरूको माग रहेको छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी अण्डा, मासु बिक्रीको प्रबन्ध गरिए व्यवसाय घाटामा जानबाट बच्ने स्थानीय व्यवसायीहरूले बताए।

जिल्लामा उत्पादित कुखुरा र अण्डाको कारोबार सुदूरपश्चिमका कञ्चनपुर कैलाली सहित पहाडी जिल्लासम्म हुने गरेको छ। बन्दाबन्दीका कारण कुखुरा व्यवसायीहरूले उत्पादित कुखुरा र अण्डा बाह्य क्षेत्रमा आपूर्ति गर्न सकेका छैनन्।