वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै

184

पुस २८,
काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।

युरोप,अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौँ उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको उनले बताए । “वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै रु १५ लाख ७५ हजार ठगी गरेको उजुरी सोमबार मात्रै विभागमा परेको छ”, उनले भने, “विशेषगरी विकसित मुलुकमा भन्दै २० वर्षमुनिका युवायुवती ठगिएको पाइएको छ ।”

त्यस्ता प्रकृतिका युवा अरूको लहलहैमा लागेर ठगिने गरेको उनले बताए । उनका अनुसार खाडी मुलुकमा पठाउने नाममा ठगीका बढी घटना दर्ता हुने गरेका छन् । विभागमा स्वदेशभित्र भएका उजुरी मात्र नभई वैदेशिक रोजगारीमा गइसकेका श्रमिकले समेत सम्बन्धित दूतावासमार्फत उजुरी गर्न पाउने प्रावधान छ । भने अनुसारको सेवासुविधा र काम नपाएको खण्डमा विदेशमा रहेका श्रमिकले उजुरी गर्न पाउने प्रावधान रहेको उनले बताए ।

कोभिड–१९ को सङ्क्रमणपछि लकडाउनका कारण केही समय उजुरी दर्ता र फछ्र्यौटको काम बन्द भए पनि सो समयपछि भने ठगीका उजुरीहरु बढ्ने गरेको विभागले जनाएको छ । उजुरीका आधारमा दण्डजरिवाना गराउन सक्ने र मुद्दा चलाउन सक्ने सम्पूर्ण अधिकार विभागको छ । विभागको कार्यविधिअनुरुप मेनपावर कम्पनीले रु दुई करोड धरौटी अनिवार्य राख्नुपर्छ । उजुरीका आधारमा मेनपावर कम्पनीमार्फत तथ्याङ्क लिइसकेपछि सो धरौटी रकममार्फत विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ ।