स्थानीय साधनले फेरियो गाउँको मुहार

गोरखापत्र दैनिक
कार्तिक २१, हुम्ला । आफू र परिवारको सुखका लागि उहिले मुुग्लान पस्ने चलन थियो । अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा यहाँ एउटा गाउँले देखाएको छ । गाउँकै पाखापखेरामा खेर गइरहेको स्थानीय जडीबुटी त्यसको कारण बनेको छ । त्यही स्थानीय स्रोतको सदुपयोगले नै सिङ्गो गाउँकै मुहारमा परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण नेक्पाका स्थानीयवासीले दिएका छन् । खेर गइरहेको जडीबुटी सङ्कलन गरेर यहाँका स्थानीयवासीले घरको छाना नै बदल्नुका साथै पठनपाठनको गर्जो समेत टार्न सफल भएका छन् । यहाँको जङ्गलमा पाइने जटामसी, कुट्खी, सेतकचिनी जस्ता जडीबुटीले स्थानीयवासीको जीवनमा महìवपूर्ण परिवर्तन ल्याइदिएको छ ।

जडीबुटीको सङ्कलनबाट हुम्लाकै दुर्गम नेक्पा बस्तीमा बर्सेनि खरका छाना हटाउने क्रम जारी रहेको स्थानीय धनबहादुर तामाङले जानकारी दिनुभयो । स्थानीयवासीले जङ्गलमा पाइने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जबाट आउने व्यापारीलाई बिक्री गर्छन् । उच्च हिमाली भेगमा पाइने यी मूल्यवान् जडीबुटी विदेश निर्यात हुने गर्छ । जसले गर्दा माग पनि निकै हुने गर्छ ।
तामाङले गाउँमा अन्न उत्पादन राम्रै हुने भए पनि कमाइको मुख्य स्रोेत जडीबुटी भएपछि घरमा जस्तापाताका छाना लगाउन थालेको बताउनुभयो । याममा घरका काम गर्न सक्ने सबैजना जडीबुटी सङ्कलन गर्न जाने भएकाले त्यसबाट दह्रो कमाइ गर्न सकिने उहाँ बताउनुहुन्छ । भदौ अन्तिमदेखि हिउँदभर स्थानीय बासिन्दा जडीबुटी सङ्कलनमा लाग्छन् । जसबाट एक परिवारले वर्षमा सातदेखि आठ लाख रुपियाँ आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् ।