कुम्भकर्ण कांग्रेस

168

नयाँ पत्रिका दैनिक
कार्तिक २१, काठमाडौं । सरकारको खबरदारी गर्न र जनताको पक्षमा आवाज उठाउन कांग्रेसले जनमत पाएको हो, तर सत्तामा हुँदा निदाएको कांग्रेस प्रतिपक्ष भएको तीन वर्षसम्म पनि जागेको छैन । संसद् र आवश्यकताअनुसार सडकमै उत्रेर जनताको मुद्दालाई सशक्त बनाउने जिम्मेवारी पाएको कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकाबाट विमुख छ । महाधिवेशनको दौडमा लागेका कांग्रेस नेता विपक्षीको ‘धर्म’ भुलिरहेका छन् ।

पार्टीभित्र गुटको जालोमा अल्झिएका सभापति शेरबहादुर देउवा सरकारका गलत काममा खबरदारी गर्नुको सट्टा सरकारी नियुक्तिमा भागबन्डा खोजिरहेका छन् । अवस्था यस्तो छ, कैयौँ राष्ट्रिय जनसरोकारका मुद्दामा विपक्षीले सरकारमाथि होइन सरकारले विपक्षीमाथि दबाब बनाएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा सरकारको काममा जनस्तरबाटै असन्तुष्टि छन्, तर विपक्षी कांग्रेसले जनताका लागि आशा लाग्दो भूमिका निर्वाह गरेका छैन । औषधि र उपकरण खरिदमा भ्रष्टाचारदेखि कोरोना परीक्षण र उपचारमै शुल्क लिने निर्णयले जनता आक्रोशित भए पनि कांग्रेस सत्ताकै छाया बनेर घुमिरहेको छ । त्यसैले पार्टीभित्रै पनि विपक्षीको भूमिकालाई लिएर प्रश्न उठेका छन् । विपक्षीको आवाज कमजोर हुँदा कोरोना परीक्षण र उपचार मुद्दा न्यायालयसम्म पुगेका छन् ।

देउवानिकट मानिने केन्द्रीय सदस्य रमेश लेखक कांग्रेसले प्रतिपक्षीका रूपमा प्रभावकारी भूमिका खेल्न नसकेको, तर जनताको अपेक्षा रहेको स्विकारे । ‘सरकारका काम कारबाहीसँग जनताको निराश बढ्दो छ, आर्थिक, भौतिक, सामाजिक विकास, कानुन कार्यान्वयन होस् वा भ्रष्टाचार नियन्त्रण र सुशासन, कतै पनि जनताले चित्त बुझाउने ठाउँ पाउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले जनतामा सरकारप्रति निराशा बढ्दो छ, उत्तिकै मात्रा प्रतिपक्षीको सक्रियता चाहेका छन् ।’

क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन र स्वास्थ्य सामग्री खरिदका विषयमा सेचत युवा सडकमा उत्रिए, तर ०७४ को चुनावमा जनताको अभिमतबाटै खबरदारी गर्ने भूमिका पाएको कांग्रेस भने पार्टीभित्रको भागबन्डा र आन्तरिक कलहमै अल्झिएको छ । कांग्रेस यसरी अल्झिएको छ कि आफ्नै नेतृत्वमा संघीय संविधान जारी गरेको श्रेय लिए पनि पाँच वर्षसम्म आफ्नै पार्टी संघीयतामा ढाल्न सकेको छैन ।