वीर अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड भत्ता छैन

92

१६ चिकित्सकको सामूहिक राजीनामा
नयाँ पत्रिका दैनिक
कार्तिक २०, काठमाडौं । वीर अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् । आकस्मिक कक्षमा कार्यरत उनीहरूले अस्पताल निर्देशक डा। केदार सेन्चुरीलाई राजीनामा बुझाएका हुन् । कोभिड–१९ महामारीमा जोखिमबीच सेवामा खटिँदा पनि अस्पतालले आफूहरूको मनोबल गिराउने काम गरेकाले राजीनामा दिएको चिकित्सकहरूको भनाइ छ ।

‘ज्यालादारी भनेर दसैँ, तिहार भत्ता दिइएन, एक दिनको तलब कट्टा गरेर दिइयो, पर्याप्त स्रोत सामग्री उपलब्ध गराइएन र धम्कीयुक्त भाषामा विभिन्न ठाउँमा चौबीसै घन्टा ड्युटी गराइयो,’ राजीनामापत्रमा उल्लेख छ, ‘हप्ताको ९६ घन्टाजस्ता विभिन्न हतोत्साहित काम गराइएकाले हाम्रो मनोबल गिरेको जानकारी गराउँछौँ ।’

अस्पताल निर्देशक डा। सेन्चुरीले आफूहरूलाई धम्की दिएको आकस्मिक कक्षमा कार्यरत डा। भवीन्द्र कार्कीले बताए । चिकित्सकले सुरक्षा सामग्री, कोभिड–१९ भत्ता र समयमै तलब माग गर्दा ‘काम गर्ने मन भए गर नत्र जागिर छाड’ भनेर निर्देशक सेन्चुरीले धम्क्याएको उनले बताए । ‘मन भए गर, नत्र जागिर छाड भनेपछि आफ्नै ज्यान जोखिममा राखेर काम गर्न सकिँदैन भनेर राजीनामा दिएका हौँ,’ डा. कार्कीले भने ।

वीर अस्पतालका स्वास्थ्यकर्मीले पर्याप्त सुरक्षा सामग्री, समयमै तलब र कोभिड–१९ भत्ता माग गर्दै १ कात्तिकमा पनि आन्दोलन गरेका थिए । त्यतिवेला उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डिएन साह र अस्पताल निर्देशक डा. सेन्चुरीको कार्यकक्षमा तालाबन्दी पनि गरेका थिए ।

सरकारले उपलब्ध गराउने जोखिम भत्ता नपाएको मात्र होइन, व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई०, मास्क र पन्जा पनि आफैँले खरिद गर्नुपरेको गुनासो उनीहरूको छ । पर्याप्त सुरक्षा सामग्री नभएकै कारण वीर अस्पतालमा कार्यरत एक सय ७० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । कोभिड–१९ उपचार र रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय सरकारले ३ चैतमै गरेको थियो ।