नेकपा विवाद झन् उग्र

171

अन्नपूर्ण पोष्ट
कार्तिक २१, काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रायः झगडा गर्छन्। कुनै बिन्दुमा पुगेपछि भेट्छन्। त्यहीँ विवाद गर्छन्। अडान राख्छन्। सम्बन्ध झन् चिस्याएर छुट्छन्। अहिले त्यही भइरहेछ।
पाँच दिनसम्मको आरोप–प्रत्यारोपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करिब एक घण्टा भेटे। तर, छलफल गत शनिबारको भन्दा झन् बिथोलिएपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो।

छलफलमा दुई अध्यक्षबीच केही विषयमा भनाभनै चल्यो। ती विषय थिए, बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेताहरूसँग गरेको जुम बैठक, त्यहाँ जनताको बहुदलीय जनवाद ९जबज० को पक्षमा चलाइएको बहस, मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मै विस्तार गरेर लैजान दिइएको निर्देशन, एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै नदिने भनी दिएको मन्तव्य र प्रधानमन्त्रीबाट राजीनामा दिँदा देश नै बर्बादीमा जाने भनी दिएको अभिव्यक्ति।

यी विषयमा विवाद भएपछि दुई अध्यक्षबीच बिहीबारको छलफल लामो समय चल्न सकेन। दाहाल उठेर बालुवाटारबाट निस्किए। आफूमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको र बालुवाटारमा बसेर आफैँले फुटको गतिविधि गरेको भन्दै दाहालले प्रधानमन्त्री ओलीसँग आपत्ति जनाएका थिए। अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।
प्रधानमन्त्री ओलीले पनि आफूलाई सबै कुरा थाहा भएको भन्दै दाहाललाई खुमलटार र कोटेश्वरमा बसेर गुटगत भेला र बैठक गरिरहेको आरोप लगाए। ओलीले आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको पनि बताए।