कविता: म निदाउन सकिन

191

हेमराज ढकाल “सुमन”
-म निदाउन खोज्छु
दिनभरको थकान मेटनलाई
तर, यो कोलाहलमय शहरमा
म निदाउनै सकिन ।

गाडीहरुको आवाजलाई
नसुने झै गरेर कोल्टे फर्कन्छु
तर, टिटी र पिपीको त्यो गुन्जनले
म निदाउन सकिन ।

मेरो सानो कोठालाई
घर सम्झेर बिस्तारामा पल्टदा
छिमेकिको बैठक कोठाको हल्लाले
म निदाउन सकिन ।

झ्यालबाट भित्र छिरेका
सडक मानवको रुवाइ सुनेर
जागेका मेरो आखाले गर्दा
म निदाउन सकिन ।

यो शहरमा कुकुरको
घुकाई र मानिसको सुताई
बिचको अन्तरद्वन्द्वले गर्दा
म निदाउन सकिन ।