भक्तपुरमा एसईई उत्तीर्ण एक सय बढी विद्यार्थी सम्मानित

1

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलले एसईई परीक्षामा उत्तीर्ण भएका १०० भन्दा बढी विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।
उक्त कार्यक्रमना स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले घुम्ती हाटबजार सञ्चालन गरिएको थियो । सूर्यविनायक नगरपालिका र वडा नं. ८ कार्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा यस वर्षको एसईई परीक्षामा उत्तीर्ण भएका १०० भन्दा बढी विद्यार्थीलाई बधाई तथा सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले वडा–वडामा सञ्चालन हुने यस्ता कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले सूर्यविनायक नगरपालिका विकास निर्माणसँगै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अग्रणी स्थानीय तहका रूपमा स्थापित भएको उल्लेख गरे ।

मन्त्री थापाले नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन भइरहेको र भक्तपुर अस्पतालमा छिट्टै मुटुरोग सम्बन्धी सेवा सुरु हुन लागेको जानकारी दिए । उनले यसअघि मुटुरोगका बिरामीलाई काठमाडौं लैजानुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब पूर्वी क्षेत्रका नागरिकले नजिकै गुणस्तरीय सेवा पाउने बताए ।
बागमती प्रदेश सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न गाउँ–गाउँमा स्वास्थ्य सेवा विस्तार गरिरहेको उल्लेख गर्दै उनले वडा नं. ४ गाम्चास्थित स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि नयाँ भवन निर्माण कार्य सुरु भइसकेको जानकारी पनि दिए ।

आगामी असार १ गते प्रस्तुत हुने प्रदेश बजेटमा भक्तपुरका आवश्यकता र समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रचारप्रसार तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले नगरका सबै वडामा घुम्ती हाटबजार आयोजना गरिएको बताइन् ।

नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा ले भौतिक पूर्वाधार विकासमा उदाहरणीय काम गरेको नगरपालिकाले अब स्थानीय किसान र साना व्यवसायीलाई बजारसँग जोड्ने अभियानलाई पनि प्राथमिकता दिएको बताए ।
वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की ले नगरपालिकामा पहिलो पटक आयोजना गरिएको घुम्ती हाटबजार सफल भएको उल्लेख गरे ।

कार्यक्रमका अध्यक्ष तथा वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत ले “दिगो विकास, व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रमले स्थानीय उत्पादनको बिक्री, प्रवर्द्धन र उद्यमशीलताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार घुम्ती हाटबजारसँगै एसईई परीक्षामा सफलता हासिल गरेका १०० भन्दा बढी विद्यार्थीलाई सम्मान गरी उनीहरूको हौसला बढाउने प्रयास गरिएको हो ।

हाटबजारमा ५५ भन्दा बढी स्टल राखिएका थिए । नर्सरी, नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड लगायतका खाद्य परिकारका स्टलसँगै हस्तकलाका सामग्री, हस्तनिर्मित गरगहना, मखमली जुत्ता, कपडाका कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए । त्यस्तै अचार, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धूप, बेसार, गुन्द्रुक लगायतका स्थानीय उत्पादन तथा कृषकहरूले उत्पादन गरेका ताजा तरकारी र हर्बल सामग्रीहरू बजारका प्रमुख आकर्षण बनेका थिए ।

कार्यक्रमलाई थप आकर्षक बनाउन चर्चित गायक मानस राज तथा सांगीतिक ब्यान्डको विशेष प्रस्तुति समेत रहेको छ ।