अझै पक्राउ परेनन् उपप्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघका नेता

126

असोज २६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने समूह अझै पक्राउ परेका छैनन् । कुटपिट भएको पाँच दिन बित्दा पनि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसकेको हो । चलाउनेमाथि २० असोजमा त्रिविपरिसरभित्रकै नेपाल बैंकअगाडि पैसा साट्न निस्केका बेला आक्रमण भएको थियो । 

कुटपिटमा परी गम्भीर घाइते भएका चलाउनेको हाल ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको दाँहिने खुट्टा भाँचिएको छ भने शरीरभरि निलडाम छ । चलाउनेले आफूमाथि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेतारकार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन् ।

नेविसंघको एक समूहले ५२ दिनदेखि त्रिविको समाजशास्त्र विभागमा लगाएको ताला क्याम्पस प्रशासनले अदालतको स्टे अर्डर आएपछि १४ असोजमा खोलेको थियो । सोही ताला खोलेको विषयमा नेविसंघ र प्राध्यापकबीच १४ गतेपछि विवाद हुँदै आएको थियो । त्यही कारण आफूमाथि आक्रमण गरिएको चलाउनेको दाबी छ ।