अहिलेसम्म ‘३७८ सुरक्षाकर्मीमा’ कोरोना संक्रमण

145

साउन १३,
काठमाडौँ । नेपालमा हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३७८ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । तीमध्ये, २३५ जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् । १४३ जना सुरक्षाकर्मी आइसोलेशनमा छन् । स्याङ्जाका एसपीसहित २१ जनालाई कोरोना देखिएपछि त्यहाँ कार्यरत प्रहरी बाहिर निस्कन पाएका छैनन् । जिल्लाका प्रहरी १४ दिन क्वारेन्टाइनमा बस्दा त्यहाँको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा असर पर्छ ।

हालसम्म १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर – २७ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय, धनुषा – ३४, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा – ६३, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा – २९, ५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङ – १५, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत – २७ र सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल – १२ संक्रमण भएको छ । जसमध्ये ९९ जना निको भएर घर फर्किसकेका छन् । बाँकी १०६ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार र सोमबार मात्रै ४० भन्दा बढी प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो दुई दिनमा प्रदेश–१ प्रहरी कार्यालय र जिप्रका स्याङ्जामा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । २० जनामा संक्रमण देखिएपछि प्रदेश–१ प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी क्वारेन्टाइनमा छन् । नेपाल प्रहरीका २०७ जनालाई कोरोना देखिएको प्रहरी प्रवक्ता निरज शाहीले जानकारी दिए । जसमध्य ९९ जना प्रहरी निको भर कार्यक्षेत्रमा फर्किएका छन् भने ८३ जना प्रहरी आइसोलेशनमा छन् ।

गत आइतबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा चारजनालाई कोरोना देखिएपछि त्यहाँ सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । उपत्यका बाहिर गएर फर्केका एकजना प्रहरी हवल्दारले सावधानी नअपनाउँदा हेडक्र्वाटरमा संक्रमण फैलिएको बताइएको छ । त्यस्तै, मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यालयमा कार्यरत २३ जनालाई कारोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २७ पुगेको छ ।