विदेशी नागरिक भन्छन् ‘नेपाल घुम्न पुगेकै छैन’

398

जेठ १९,
पोखरा । लकडाउन अघिसम्म पोखरा लेकसाइड आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ थियो ।
पोखरा वरपरका पर्यटकीय क्षेत्रमा पनि धेरै पर्यटक घुम्न आएका थिए । तर, कोरोना महामारी रोक्न सरकारले लकडाउन गरेपछि भने पर्यटन क्षेत्र ठप्प छ । लकडाउनको समयमा पनि पोखरा लेकसाइड क्षेत्रमा फाट्टफुट्ट विदेशी पर्यटक घुमिरहेको देख्न पाइन्छ । उनीहरु आफूलाई स्वदेशभन्दा नेपालमै सुरक्षित र आनन्द भइरहेको अनुभव सुनाउँछन् ।

कोरोना भाइरसका ठूलो मानवीय क्षति व्यहोरेको इटलीका ओस्कर नेपालमा बसेको करिब ३ महिना हुन लाग्यो । तर, उनको मन आत्तिएको छैन । बरु, कहिले डाँडाकाँडा चहार्दै त कहिले फेवातालको तैरिरहनले छालसँग समय बिताउँदै आइरहेका छन् । ‘म विगत १८ वर्षदेखि नै घरबाहिर छु । उसै पनि म त्यति घर बस्दिनँ,’ ओस्करले अनलाइनखबरसँग भने, ‘१८ वर्षदेखि बनारस बसेर हिन्दी र नेपाली भाषा पढ्दै आएको छु ।’ उनले १८ वर्षदेखि प्रत्येक वर्षको ३ महिना नेपालमा बिताउँदै आएको सुनाए ।

इटली कोरोना भाइरसले ‘तहसनहस’ भएको भए पनि आफ्नो परिवार सुरक्षित रहेको ओस्करले सुनाए । ‘त्यहाँ सरकारले रोक्न खोजेको हो । तर, हामी जनता नै अबुझ भएकाले कोरोना भाइरसले फैलिने मौका पायो । त्योभन्दा त सरकारको आज्ञा पालना गरेर घरमै बस्ने नेपाली महान छन्,’ उनले भने ।
६ महिना छुट्टी मिलाएर साथीहरुसँग नेपाल घुम्न फ्रान्सकी क्लारा २ महिनादेखि लेकसाइडको एउटा होटलमा छिन् । उनी समय कटाउन कहिले लेकसाइड चहार्छिन् त कहिले होटलको भान्सामा गएर खाना पकाउन सघाउँछिन् ।

लकडाउनपछि फ्रान्सले आफ्ना नागरिकलाई उद्धार गरेर लैजाँदा उनी यतै बस्न रुचाइन् । ‘नेपालको यो अवस्था सुधार हुने ठूलो अपेक्षा थियो । तर, अहिले झन् भयावह स्थिति छ,’ उनले भनिन्, ‘तर, नेपालजस्तो सुरक्षित ठाउँ सायदै होला । यहाँ हामी सुरक्षित महसुस गरिरहेका छौं ।’

क्लाराले आफूलाई नेपाल अझै घुम्ने रहर नपुगेको क्लाराले बताइन् । ‘अहिले लकडाउनले बाहिर निस्केर तिनै दृश्य हेरिराखेकी छु । खासमा नेपाल घुम्न मलाई पुगेकै छैन । यहाँबाट देखिने हिमालका दृश्यले पनि पुगेको छैन,’ उनले भनिन्, ‘लकडाउन खुलेपछि राम्रोसँग नेपाल घुम्ने अझै रहर छ ।’युक्रेनका जेनीको यो दोस्रो पटक नेपाल भ्रमण हो । अघिल्लो पटक आएका बेला नेपालको सुन्दरताले मन लोभिएपछि दोस्रो पटक आएको उनी सुनाउँछन् । ‘यो मेरो दोस्रो नेपाल भ्रमण हो । नेपाल आएको ३ महिना बढी भो । तर, पनि घुमेर पुगेको छैन,’ उनी भन्छन् ।

लकडाउनमा जेनी आफ्नो बाइकलाई खुब ‘मिस’ गरिरहेको सुनाउँछन् । ‘अहिले पनि बेलाबेलामा हाइकिङ जान्छु । साइकलिङ गर्छु । तर, मैले सबैभन्दा बढी मिस गरेको मेरो बाइक हो,’ उनले भने । उनले लकडाउनमा कहिले योग गर्दै त कहिले भान्सामा सघाउँदै आएको सुनाए । पर्यटन प्रहरी कार्यालय कास्कीका अनुसार अझै पनि पोखरामा ३ सय ३९ जना विदेशी नागरिक सम्पर्कमा छन् । त्यसमध्ये सबैभन्दा बढी चिनियाँ ८० जना र अमेरिकी २३ जना छन् । त्यसबाहेक रसियाका १६ जना, फ्रान्सका १५ जना, इटलीका १८ जना पनि छन् ।

‘धेरैलाई लकडाउनपछि नेपाल घुम्ने अझै इच्छा छ । कोही फर्किन चाहनुभएको छ । त्यसका लागि सम्बन्धित निकायमा पहल र समन्वय गरिरहेका छौं,’ पर्यटन प्रहरी कार्यालय कास्की प्रमुख गणेश खनालले भने । लकडाउन भएयता पोखराबाट १ हजार २ सय ३७ जना पर्यटकलाई सम्बन्धित देशले उद्धार गरेको छ । स्वदेश फर्किन नचाहेका विदेशी नागरिकको सुरक्षाका लागि पनि पूर्ण सावधानी अपनाइएको खनालले दाबी गरे । ‘उहाँहरुलाई नियमित सम्पर्कमा राखेका छौं । फोन नम्बर र इमेल उपलब्ध गराई कुनै समस्या परे तत्काल खबर गर्न पनि भनेका छौं,’ उनले भने । -अनलाइन खबरबाट