विश्वमा महामारीः सगरमाथामा चीनको सक्रियता

126

जेठ १,
बेइजिङ — विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनले उत्तरी मोहडाबाट आरोहणको ६०औं वार्षिकोत्सवका अवसरमा सर्वोच्च शिखर सगरमाथा लक्षित गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ। सन् १९६० को मे २५ मा पहिलोपटक तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण भएको थियो।
महामारीका कारण यस वसन्त ऋतुको पर्वतारोहण गतिविधि रोकेको चीनले सगरमाथामा फाइभ(जी नेटवर्क जडान, उचाइ मापन, फोहोर संकलन, सगरमाथा केन्द्रित अनुसन्धानलगायतका गतिविधिहरूलाई यतिबेला तीव्रता दिइरहेको हो।

चाइना मोबाइल र हुवावे कम्पनीले मिलेर सगरमाथाको ६ हजार ५ सय मिटरको उचाइमा पहिलो पटक फाइभ-जी नेटवर्क स्थापना गरेका छन्। चाइना डेलीका अनुसार अप्रिल ३० तारिखदेखि सगरमाथामा गिगाबिट अप्टिकल फाइबर नेटवर्क स्थापित भएपछि अब चाइना मोबाइलले आफ्नो डुअल गिगाबिट नेटवर्क सञ्‍चालन गर्न सकेको हुवावे कम्पनीले पुष्टि गरेको छ।

फाइभ-जी नेटवर्ट सञ्‍चालनमा ल्याएलगत्तै चीनले सगरमाथाको उचाइ पुनः मापनको प्रक्रिया अघि बढेको जानकारी गराएको थियो। गत मे ९ तारिखमा ३० जना चिनियाँ सर्वेक्षण टोली हिमपहिरोको खतरा देखेपछि ७ हजार २८ मिटरको उचाइबाट झरेर ६ हजार ५ सय मिटरको उचाइमा फर्किएको थियो। खेलकुद प्रशासनअन्तर्गत पर्वतारोहण प्रशासन केन्द्रका उपाध्यक्ष वाङ युङफङले बताएअनुसार ६ जना पथप्रदर्शक र २७ जना उपकरण बोकेका भरियासहित टोली गत शुक्रबार शिखरतर्फ लम्किए पनि हिम चट्टान र पहिरोको खतराका कारण फर्किएको थियो। उनले भने, ‘फर्किएको टोली आराम गर्दैछ भने मापन उपकरणको प्रयोग गर्दै आरोहणको अभ्यास पनि गर्दैछ।’ -kantipur