१० हजार जनाको पिसिआर परीक्षण गर्ने सरकारको तयारी

322

जेठ १, काठमाडौं । उपत्यकामा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाएको छ। बिहीबारबाट उपत्यका लकडाउनका बेला घरबाहिर निस्केका, राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीको पिसिआर परीक्षण थालिएको हो। यसका साथै बाहिरबाट उपत्यका छिरेका लगायतको कोरोना परीक्षण अघि बढाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कालिमाटी तरकारी बजारमा तरकारी बेच्‍नेदेखि अन्त्य अत्यावश्यक सेवा क्षेत्रमा रहेका १० हजार जनाको कोरोना भाइरस परीक्षण गर्ने भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र क्षेष्ठका अनुसार पिसिआर परीक्षणलाई तीव्र रुपमा अघि बढाइएको हो। ‘केही दिनयता उपत्यकामा संक्रमित देखिन थालेपछि लकडाउनको बेलामा बाहिर निस्केर काम गरिरहेका विभिन्‍न सेवा समूहका करिब १० हजारको पहिलो चरणमा परीक्षण गर्न लागेका छौँु, उनले भने। महानिर्देशक श्रेष्ठका अनुसार लाइनमा राखेर पहिलो व्यक्तिको पिसिआर परीक्षण गरिनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ। चौथो व्यक्तिको फेरि पिसिआर परीक्षण गरिने रणनीति विभागले बनाएको छ। श्रेष्ठका अनुसार परीक्षणका क्रममा पोजेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पिसिआर गरिने छ। हालसम्म उपत्यकामा ५ हजारको पिसिआर परीक्षण भइसकेको छ। अब १० हजारको परीक्षणपछि मात्रै उपत्यका जोखिम आँकलन गर्न सकिने उनले बताए।