संस्कृतिकै पाटो बन्दै दशैँको नयाँ नोट

58

असोज १४,
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्ने गर्छन् । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उनको वार्षिक कार्यक्रमजस्तै बनेको छ ।

यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको कार्यालयमा बिहान ७ बजे पुगे । उनी पुग्दा केही सर्वसाधारण अघि नै पुगिसकेका थिए । हरेक वर्षजस्तै यस वर्ष पनि नयाँ नोट साट्ने भीड उस्तै थियो । सर्वसाधारणको लाइन एकपछि अर्को गर्दै बढी रहेको थियो ।

उनले विगत लामो समयदेखि दशैँमा नयाँ नोट साट्ने गरेको बताउँदै नयाँ नोट सटही संस्कृतिकै एउटा पाटोजस्तै बनिसकेको धारणा राखे । लम्सालजस्तै स्याङ्जा घर भई हाल पोखरा बस्दै आएकी हीरा राई पनि बिहानै देखि नयाँ नोटका लागि लामबद्ध रहेका थिए ।

विशेष गरी दशैँका समयमा मात्रै नयाँ नोट सटही हुने भएकोले यस समयमा सर्वसाधारणले सहजरुपमा पाउने गरी नोट वितरण हुनुपर्ने उनको माग छ । नोट साट्नकै लागि लाइनमा भेटिएका पोखराको बिरौटा बस्ने अर्का व्यक्ति रामचन्द्र लम्साल सर्वसाधारणको नयाँ नोटप्रतिको आकर्षणलाई दृष्टिगत गर्दै त्यही किसिमबाट कर्मचारी परिचालन नगरिँदा सर्वसाधारणले लामो समय लाइनमा उभिनुपर्ने गरेको गुनासो गरे ।

नयाँ नोट साट्नका लागि टाढा टाढाबाट आउने गरेका व्यक्तिलाई धेरै नउभिइकन सहजरुपमा चाँडो पैसा साटेर फर्कन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए । यस वर्ष दशैँलाई लक्षित गरी तीन वटा सटही काउन्टर सञ्चालनमा ल्याइएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डिल्लीराम पोखरेलले जानकारी दिए । ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्तका लागि छुट्टै काउन्टर व्यवस्था गरिएको छ भने सरकारी कार्यालय र सर्वसाधारणका लागि छुट्टाछुट्टै काउन्टर व्यवस्था गरिएको छ ।

अन्य समयभन्दा बढी सर्वसाधारणको चापलाई दृष्टिगत गरी जनशक्ति पनि त्यहीरुपमा परिचालन गरिएको उनको भनाइ थियो । ‘दशैँका लागि यस वर्ष पोखरा कार्यालयबाट एक अर्ब बराबरको नयाँ नोट वितरण गर्ने लक्ष्य छ’, उनले भने, ‘विभिन्न वित्तीय संस्थाबाट वितरण गर्ने गरी झण्डै रु ५० करोड ती संस्थालाई सटही गरी दिइसकेका छौँ, अरु रु ५० करोड बैंकको कार्यालयबाटै सर्वसाधारणलाई सटही गरिने छ ।’ पोखरा कार्यालयबाट सोमबार मात्रै रु पाँच करोड ५६ लाख ७५ हजार बराबरको नयाँ नोट साटिएको छ ।

प्रतिव्यक्ति रु १८ हजार ५०० बराबरको नयाँ नोट साट्दै आएको कार्यालयले पाँच, १०, २०, ५० र १०० दरका एक÷एक सय सङ्ख्याका प्याकेट वितरण गरिरहेको उनले जानकारी दिए । दशैँका क्रममा नयाँ नोट साट्ने क्रम संस्कृतिजस्तै बने पनि प्रत्येक सर्वसाधारणमा नोटको जतन गर्नुपर्छ भन्ने भावना विकास हुनु अपरिहार्य भएको पोखरेलले बताए ।

नोटको जतन सम्बन्धमा वित्तीय सङ्घ संस्थामा समय समयमा अभिमुखीकरण एवं अनुगमन गरिएको बताउँदै उनले यसबारे सर्वसाधारणमा पनि सचेतना अभिवृद्धि अपरिहार्य भएको बताए । दशैँमा वितरण गरिएका नयाँ नोट रङ पोतिएका, झुत्रिएका अवस्थामा पुनः एक महीनापछि बैंकमा आउँछन् । बैंकमा फर्किएका ती नोटलाई व्यवस्थित गर्न थप समय लाग्ने गरेको छ ।

नेपाली समाजमा भेटी वा दक्षिणाका रुपमा नोट दिने चलन छ । टीका लगाएर रङ लतपतिएको हातले नै दक्षिणा दिइने कारण नोटमा रङ लाग्नुका साथै थोत्रो हुने गर्दछन् । दशैँमा निष्काशन गरिएका नयाँ नोट तिहार र छठ नसकिँदै झुत्रे भइसक्ने निर्देशक पोखरेलले बताए । दशैँमा नयाँ बस्त्र लगाउने, किनमेल गर्ने र परिवारसँग खुशियालीका साथ मनाउने प्रचलनसँगै नयाँ नोटसहितको दक्षिणा पनि सँगै जोडिएको पोखरा महानगरपालिका–३३ भरतपोखरीका युवा परमेश्वर पौडेलले बताए । संस्कृतिजस्तै बनेको दशैँको नयाँ नोट सटहीलाई नेपाल राष्ट्र बैंकले यथाशक्य सहज र सुलभ बनाउनुपर्ने उनको भनाइ थियो ।