बलात्कार आरोपको छानविनमा महराले सघाउनुपर्छः कांग्रेस

59

असोज १४,
काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले घटनालाई निष्पक्ष छानविनमा सघाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर सभामुख र सांसद पदबाट अलगिएर महराले छानविनलाई सघाउन माग गरेका छन्।

‘सभामुख जस्तो गरिमामय पदमा रहेका व्यक्तित्वमाथि गम्भीर प्रश्न उठिसकेपछि उहाँले सभामुख र सांसद पद समेतको जिम्मेवारीबाट तत्काल राजीनामा गरी निष्पक्ष अनुसन्धानलाई सघाउनु पर्छ भन्ने हाम्रो धारणा छ’ शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ। राज्यले घटना बारे गम्भीर छानविन गर्ने विश्वास गरिएको कांग्रेसले उल्लेख गरेको छ। ‘कानूनको नजरमा सबै समान हुन्छन् र सबैले निर्दोष सावित हुने या दोषी ठहरिए कारवाही भोग्ने प्रकृयामा राज्यले गम्भीर ढंगले पहलकदमी गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ’ शर्माले भनेका छन्। कांग्रेसले यस घटना बारे अपरान्ह तीन बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने पनि बताएको छ।