एनसेलको आम्दानी ६ प्रतिशतले घट्यो

107

भदौ २५,
काठमाडौं । लामो समयदेखि कर लाभकर विवादमा मुछिएको निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको आम्दानी घटेको छ। एनसेलको माउ कम्पनी आजियाटाका अनुसार सन् २०१९ को पहिलो छ महिनामा उसको आम्दानी ६ प्रतिशतले घटेको हो। सरकारले गत वर्षबाट लगाएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानी आएको गिरावटका कारण आम्दानी घटेको कम्पनीले जानकारी गराएको छ।

आजियाटाले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार, २०१८ को ६ महिना (जनवरी देखि जुन) को अवधिको तुलनामा २०१९ को ६ महिनामा एनसेलको आम्दानी ५।७ प्रतिशतले घटेको छ। यतिमात्र होइन मोबाइल सेवाबाट हुने आम्दानीमै ३।२ प्रतिशतको घटेको छ।

अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा १३।७ प्रतिशतले गिरावट आएको छ । भ्वाइस सेवा र अन्तर्राष्ट्रिय आगमन कल टेलिकम कम्पनीहरुको आयको प्रमुख स्रोत हो । विभिन्न माध्यमहरुको उपलब्धता र प्रविधिमा आएको परिवर्तनले गर्दा विश्वव्यापी रुपमा नै दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइस र अन्तर्राष्ट्रिय आगमन कलको आय घट्दो क्रममा रहेको छ ।