बैंकिङ सिस्टम ह्याक, अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द

211

भदौ १५,
काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ । स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२-१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् ।

शनिबार साँझ प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ। बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए।