Saturday, September 19, 2026
Home पत्रपत्रिका कृषिमा विदेशकै भरः एक वर्षमा डेढ खर्बको आयात

कृषिमा विदेशकै भरः एक वर्षमा डेढ खर्बको आयात

115

अन्नपूर्ण पोष्ट दैनिक
भदौं २,
काठमाडौं । नेपाल भौगोलिक रूपमा इजरायलभन्दा भन्डै सात गुणा ठूलो छ। इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छ। पानी आक्कलझुक्कल पर्छ। कुल जनसंख्यामध्ये १.७ प्रतिशत अर्थात् ७२ हजार जनता कृषि पेसामा आबद्ध छन्। त्यो मुलुकले पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी २१ मुलुकमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ। नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत ९झन्डै १ करोड ९० लाख० जनता कृषि पेसामा छन्। नेपाल ‘कृषिप्रधान’ मुलुक भनेर चिनिन्छ। कुल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ। तर यही मुलुक कृषिमा परनिर्भरता चुलिएको छ। सन् ६० को दशकमा नेपाल धानचामल निर्यात गर्ने मुख्य मुलुकमा पर्थो। मुलुकले आव ०७५।७६ मा एक खर्ब ६० अर्ब ५८ करोड मूल्यबराबरको प्रमुख कृषिजन्य वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ। कृषिका अन्य उत्पादनसमेत जोड्ने हो भने झन्डै दुई खर्ब हाराहारीमा कृषिजन्य वस्तु आयात भएको छ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालले कृषिजन्य वस्तुमा आयात नगरेको कुनै वस्तु छैन। गत आवमा कुल १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब ६० अर्ब ५८ करोडको प्रमुख कृषिजन्य वस्तुमात्रै आयात भएको छ। ‘यस्तो अवस्थामा पनि हामी छाती फुकाएर भन्छौं, कृषिप्रधान हाम्रो मुलुक,’ राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रीता बस्ताकोटीले भनिन्, ‘अब कृषिमा आयातमुखी मुलुक भन्ने बेला आयो। अहिलेसम्म कृषिमा होइन, बालुवामा लगानी भएको छर्लंग भयो।’ सरकारले कृषिलाई प्राथमिकता दिँदै गर्दा भयावह रूपमा कृषिजन्य वस्तु आयात बढेको छ।

पछिल्लो १० वर्ष ९०६६।६७ देखि ०७५।७६० मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिका नाममा झन्डै दुई खर्ब खर्च गरेको छ। यस्तै ०६४।६५ देखि ०६७।६८, ०६९।७० र ०७२।७३ मा अनुदानका नाममा राज्य र दातृ निकायबाट गरी एक खर्ब ६ अर्ब रुपैयाँ खर्च भएको छ। ‘तर अवस्थामा सुधार हुनुको सट्टो कृषिमा परनिर्भरता चुलिँदै गयो,’ कृषिविज्ञ कृष्ण पौडेलले भने, ‘उत्पादन वृद्धि गर्न जुन स्थानमा लगानी गर्नुपर्ने हो, त्यो ठाउँमा लगानी पुगेन। कृषि नीति नै बेठिक भएको पुष्टि भएको छ।’

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा कुल एक खर्ब ६० अर्ब ५८ करोडको कृषिजन्य वस्तु आयात हुँदा सबैभन्दा धेरै चामल आयात भएको छ। गत आवमा ३२ अर्ब ५० करोड ५० लाख मूल्यबराबरको चामल आयात भएको हो। स्वदेशमा ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो। धानमात्रै ६ अर्ब ८४ करोड ६० लाखको आयात भयो। मकै र मकैजन्य १३ अर्ब ३६ करोड ६१ लाख, गहुँ तथा गहुँजन्य ६ अर्ब २४ करोड ६८ लाख, मासुजन्य जिउँदो जनावर र पन्छी चार अर्ब एक करोड रुपैयाँको आयाता भएको छ। यस्तै विभिन्न प्रकारका मासु १५ करोड ९९ लाख र माछा तथा माछाजन्य एक अर्ब ८९ करोड ४० लाखको आयात भएको थियो।