महिलाको मुद्दामा अदालतसँग न आस न भरोसा

71

राजधानी दैनिक
भदौं २,
काठमाडौं। छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षौंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्र्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्ने महिला हिंसा, बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् । जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वोच्चमा दायर भएको बलात्कारको एक मुद्दा । सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्षअधि सामूहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेस पेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे ।

न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्दामा २२ फागुन २०६९ मा पीडकलाई ८ वर्ष कैद र ५ हजार जरिमानाको फैसला सुनाइयो । तर, तत्कालीन पुनरावेदनका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुवैलाई सफाइ दियो । जसले पूजाको घाउ थप बल्झायो । उनले राष्ट्रिय पत्रिकामार्फत तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई खुलापत्र लेखिन्, ‘मेरो जीवन निमोठ्ने निर्दोष हुन् ?’ उनको खुलापत्रका कारण सामाजिक बहस सुरु भयो । २ पुस २०७१ म दर्ता भएको मुद्दाको अहिलेसम्म छिनोफानो भएको छैन । पूजाले पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा चार प्रधानन्यायाधीशले आफ्नो कार्यकाल पूरा गरिसके । तर, कसैले पनि उनको मुद्दा हेर्ने जाँगर चलाएनन् । सो मुद्दाको टुंगो कहिले लाग्छ, अझै भन्न सक्ने अवस्था छैन ।
पूजाको मुद्दामा बहस गरिरहेका अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘अदालतले किन पटक–पटक पेसीबाट हटाइरहेको छ, बुझ्न सकेको छैन ।’