नेकपा र समाजवादीबीच चिसियो सम्बन्ध

74

नागरिक दैनिक
भदौं २, काठमाडौं । सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध बिग्रन थालेको छ। समाजवादी पार्टीका नेताहरू लामो समयसम्म पनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा सरकारको नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन्। सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो।

दुईबुँदे सहमतिको पहिलो बुँदामा सरकारले संविधान संशोधनको काम अघि बढाउने र दोस्रो बुँदामा तत्कालीन संघीय समाजवादी पार्टी सरकारमा सहभागी हुने सहमति भएको थियो। पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले समाजवादीसँग गरिएको सम्झौता कार्यान्वयन नभएकोमा नेकपासँग आक्रोश पोखेका छन्। ‘कम्युनिस्ट पार्टीको शासनमा सरकारभन्दा पार्टी ठूलो हुन्छ,’ नागरिकसँग उनले भने, ‘त्यसैले सहमति कार्यान्वयन नहुनुमा सरकार होइन, कम्युनिस्ट पार्टी जिम्मेवार हुन्छ।’ कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच संवादहीनताको स्थिति आएको उनले बताए। ‘अब कम्युनिस्ट पार्टीले सोच्नुपर्ने बेला भएको छ। नेकपा र समाजवादी पार्टीबीचको सम्बन्धमा अन्योल बढेको छ,’ उनले भने, ‘पार्टीभित्र साथीहरूले संविधान संशोधन प्रक्रिया किन अघि बढेन भनी प्रश्न उठाउन थालेका छन्। यो स्वाभाविक पनि हो।’

सरकारको नेतृत्व गर्ने नेकपाले संविधान संशोधनमा चासो नदेखाएको समाजवादीका नेताहरूको आरोप
पार्टी स्रोतका अनुसार संविधान संशोधन गर्न चेतावनी दिँदै पार्टीले सरकारलाई फेरि अर्को एकपटक अल्टिमेटम दिने तयारी गरेको छ। यस्तो अल्टिमेटम पार्टीले यसअघि पनि दिइसकेको छ। केही दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको पार्टीका नेताहरूले जनाएका छन्। पार्टीका केन्द्रीय सदस्य डा। शिवजी यादवले पार्टीले अन्तिम एकपटक समयसीमा राखी संविधान संशोधन गर्न सरकारलाई चेतावनी दिने र त्यसपछि पनि सरकारले संविधान संशोधनको प्रक्रिया अघि नबढाए सरकार छाड्ने बताए। भदौभित्र यस्तो चेतावनी दिने सम्भावना रहेको उनले जनाए। ‘अहिलेसम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा पार्टीसँग सरकारसँग खुसी छैन,’ उनले भने, ‘अब हामीले अन्तिम एकपटक संविधान संशोधनका लागि सकारलाई चेतावनी दिने तयारी गरेका छौं।’