३ हजार दिराम तलब भएका नेपालीहरुले युएईमा परिवार लैजान पाउने

196

साउन ५,
काठमाडौं । वैदेशिक रोजगारीअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई) गएका नेपालीसहित अन्य देशका आप्रावासी श्रमिकले कमाइको आधारमा परिवारका सदस्य लैजान पाउने भएको छन् । मासिक ४ हजार दिराम कमाउने विदेश श्रमिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम युएईको कानुन मन्त्रालय लागू गर्ने भएको छ । कम्पनीले बसोबासको नि:शुल्क व्यवस्थापन गरेको हकमा भने मासिक ३ हजार दिराम तबल हुने कामदारले पनि परिवार लैजान पाउने व्यवस्था गरिएको छ । यसअघि मासिक ४ हजार ५ सय दिराम आम्दानी भएका विदेशी श्रमिकले मात्र परिवार लैजाने पाउने व्यवस्था थियो ।

उक्त व्यवस्थाअनुसार यसअघि उच्च पद तथा आम्दानी भएका कामदारले मात्र परिवारका सदस्य आफूसँगै लैजान पाउँथे । नयाँ नियम लागू भएपछि पद आवश्यक नपर्ने, तर युएई सरकारले निधारण गरेको तलब सुविधा भने पाएको हुनुपर्ने भएको छ । युएईमा काम गर्ने अप्रवासी कामदारले श्रीमान अथवा श्रीमती र १८ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउने छन् । यस्तै, यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति पनि लिन रोजगारदातालाई अपिल गरेको छ ।

नयाँ नीतिले लामो समयदेखि परिवारसँग टाढा रहेका विदेशी कामदारलाई सहयोग पुग्ने यूएईको विश्वास छ । पछिल्लो समय यूएई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् ।