मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना

43

राजधानी दैनिक
साउन ३, काठमाडौं । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत उपनिर्वाचनलाई प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्री केपी ओलीले समेत रिक्त स्थानमा छिट्टै निर्वाचन हुने बताउँदै आएका छन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको बताए ।
तर, स्थानीय तहको निर्वाचनका लागि मिति भने आयोगको परामर्शमा सरकारले नै तोक्ने कानुनी व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले केही दिनभित्रै आयोगले सो विषयमा सरकारसँग परामर्श गर्ने बताए । ‘कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको छ । सरकारसँग केही दिनभित्रै सो विषयमा छलफल हुन्छ,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
हाल आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधि रिक्त सबै तहको विवरण संकलन सकेर निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको विवरण तयार गरिरहेको छ ।