रातको अर्कै काठमाडौं

163

कान्तिपुर दैनिक
असोज १०, काठमाडौँ — सिमसिमे पानीसँगै साँझ ढल्किएपछि बुधबार रात नपर्दै काठमाडौं सुनसान बनिसकेको थियो । गन्तव्यतर्फ लम्किरहेका सवारीको हल्लाखल्ला र सटर बन्द गर्दाको कर्कस आवाजसँगै रात पर्दै थियो । धेरै मान्छे न्यानोको खोजीमा घर पसिसकेका थिए । राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास तथा समन्वय केन्द्रका अधिकारी भने यही झरीमाझ सडक छेउछाउमा रात गुजारिरहेका, सडक पेटी र गल्लीमा भौंतारिरहेका र यौन गतिविधिमा संलग्न बालबालिकालाई उद्धार गर्न हिँडेका थिए ।

राष्ट्रिय बाल अधिकार परिषद् (साविकको बाल कल्याण समिति) का अधिकृत र बालबालिका खोजतलास केन्द्रका प्रहरी अधिकारीसहितको २५ जनाको टोली झन्डै साढे आठ बजे भृकुटीमण्डपबाट पुतलीसडक हुँदै बागबजार घुमेर रत्नपार्कछेउ पुग्यो । त्यतिबेला सिमसिम पानीमा रुझ्दै दुई किशोरी युवकसँग मोलतोल गरिरहेका थिए । सादा पोसाकको प्रहरीले गतिविधि प्रमाणित गरेलगत्तै उनीहरूलाई समात्यो । पक्राउलगत्तै १८ वर्षमुनिका दुई किशोरी जोडजोडले चिच्याए । एउटीले भनिन्, ‘मेरो बच्चा छ । छाड्दे ।’ खोजतलास केन्द्रको भ्यानभित्र राखिसक्दा पनि उनीहरूको चिच्याहटमा कमी आएको थिएन ।

केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालले सुनाए, ‘यी दुवै पहिला पनि पक्राउ परेर तीन महिना सुधार गृहमा बसीवरी सीपमूलक तालिम लिएर निस्केका किशोरी हुन् । उनीहरू फेरि पहिलेकै जीवनशैलीमा फर्केछन् ।’ पक्राउ पर्ने, छुट्ने र फेरि पुरानै गतिविधिमा संलग्न हुने निरन्तरको चक्रको कारण के हो ? उनले भने, ‘यौन गतिविधिबाट छिटो हुने आम्दानी र स्वतन्त्र जीवनशैलीका कारण यस्तो भइरहेछ ।’ उनको अनुभवले भन्छ, राजधानीमा करिब तीन सयको संख्यामा सडक बालबालिका छन्, जसमध्ये करिब आधा बालिका छन् । उनीहरूमध्ये धेरैजसो यौनजन्य गतिविधि र लागूऔषध दुर्व्यसनमा फसिरहेका छन् । रत्नपार्कलाई केन्द्र बनाएर हुने यौन गतिविधिमा किशोरीको पनि संलग्नता देखिने दाहाल बताउँछन् । केही दिनअघि मात्र केन्द्रले गरेको यस्तै कारबाहीमा यही क्षेत्रबाट किशोरीहरू पक्राउ परेका थिए । केन्द्रका एक अधिकारीले केही समयअघि रत्नपार्क छेउबाटै समातिएकी एक किशोरीको गोजीभरि कन्डम भेटेका थिए । ती किशोरी पनि केन्द्रले पक्राउ गरेर सुधार गृहमा तीन महिना बिताएर निस्केकी रहिछन् ।