शक्तिशाली विभाग शीर्ष नेतालाई

96

कान्तिपुर दैनिक

साउन २, काठमाडौँ । नेकपाले शक्तिशाली विभागहरूमा पार्टीको सचिवालयमै रहेका शीर्ष नेताहरूलाई जिम्मेवारी दिने तयारी गरेको छ । ३२ वटा विभाग रहे पनि संगठन विभाग, विदेश विभाग, आर्थिक विभाग, प्रचार विभाग र स्कुल विभाग महत्त्वपूर्ण मानिन्छन् । त्यसमा सचिवालयमा रहेका वरिष्ठ नेताहरूलाई राख्ने समझदारी भएको छ । स्रोतका अनुसार विदेश विभागको जिम्मेवारी पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाललाई दिइनेछ । उनले तत्कालीन एमालेमा लामो समयसम्म विदेश विभागकै जिम्मेवारी सम्हालेका थिए । अहिले पनि उनी विदेश मामिलामा चासो राख्छन् ।

यो विभागमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि चाहना राखेका थिए । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन नेपाललाई नै उक्त विभाग दिने निष्कर्षमा अध्यक्षद्वय ओली र दाहाल पुगेका छन् । पार्टीभित्र अर्को शक्तिशाली मानिने संगठन विभाग वामदेव गौतमले लिन चाहेका छन् । यो विभागका लागि ईश्वर पोखरेल र रामबहादुर थापाको नाम पनि सूचीमा छ ।

तर तत्कालीन एमालेको अध्यक्ष हुँदै प्रधानमन्त्री बनेपछि ओलीले बेवास्ता गरेको भन्दै गौतम चिढिएकाले उनलाई थुमथुम्याउनुपर्ने बाध्यता ओलीलाई परेको छ । गौतमका लागि अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक रहेको एक नेताले जानकारी दिए । यो विभाग एमाले पक्षमा रहने खालको सहमति भएकाले थापाले चाहना राखे पनि नहुने सम्भावना छ ।

प्रचार विभागमा माओवादी पक्षले लिने समझदारी भएको छ । सचिवालयभित्रैबाट पर्ने भएकाले प्रवक्ता श्रेष्ठलाई जिम्मेवारी लिन नेताहरूले जोडबल गरेका छन् । श्रेष्ठले भने विदेश विभागमा बढी रुचि देखाएका छन् । श्रेष्ठले नमानेको अवस्थामा मात्र प्रचार विभागको जिम्मेवारी स्थायी समिति सदस्य तहका नेताले पाउने छन् । त्यस्तो भए तत्कालीन माओवादीभित्र उक्त विभाग सम्हालेकी पम्फा भुसालले जिम्मेवारी पाउन सक्छिन् ।