कान्तिपुर दैनिक
साउन १२,
कपिलवस्तु । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब बढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए । राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमा केही दिन काम गरे । एजेन्टले भनेअनुसारको तलब पाएनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मार्यो, उनी छाँगाबाट खसेझैं भए ।
कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगिएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् । चिन्ताले घर जान सकिरहेका छैनन् । ‘के मुख लगाएर जाने,’ उनले भने, ‘भएको जागिर पनि छैन । समस्यामा छु ।’ अहिले उनी कृष्णनगरमा डेरा लिएर बसिरहेका छन् । उनीजस्तै सुर्खेतकी नन्दा परियार अलपत्र छिन् । उनलाई पनि मासिक ४० हजारभन्दा बढी कमाइ हुने प्रलोभन दिइएको थियो । ‘धेरै नै कन्भिन्स गरिएको थियो,’ उनले भनिन्, ‘परिवारको भलो हुन्छ ठानेँ, अहिले सम्पत्ति गुमाएँ ।’ गहना बेचेर ४ लाख र सरसापट गरेर ७ लाख रुपैयाँ नेटवर्किङ कम्पनीलाई बुझाएको उनले बताइन् । कम्पनीमा गएर काम पनि गरिन् । ‘काममा त्यत्ति चित्त बुझिरहेको थिएन,’ उनले भनिन्, ‘जब सञ्चालक पक्राउ परेको थाहा पाएँ, मेरो होस उड्यो ।’ उनले थपिन्, ‘घरमा के भनेर जवाफ दिने रु’ न्यायका लागि उनी इप्रका कृष्णनगर धाइरहेकी छन् ।
छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा ‘एमस्टेप प्रोग्रेसिव प्रालि’ को सदस्य बनेर उनीहरूजस्तै ३ सय ५० युवा ठगिएका छन् । कम्पनीले सञ्चालन गरेको नेटवर्किङ व्यवसायमार्फत धेरै नेपाली ठगिएका हुन् । प्रारम्भिक रूपमा उनीहरूबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । प्रहरीका अनुसार मुख्य सञ्चालक रौतहटका अमित चौधरी र धादिङका कान्छा लामा घिसिङ भनिने अभिराज लामा हुन् । उनीहरूले सिर्जनशील र छिट्टै प्रलोभनमा पार्न सक्ने व्यक्ति खोजेर परिचालन गर्थे । त्यस्ता एजेन्टलाई राम्रो पारिश्रमिक दिन्थे । एजेन्टले चिनेका र विभिन्न माध्यमबाट सम्पर्कमा आएका युवालाई आकर्षित गर्थे । कतिपयलाई घरमै बसेर ३० देखि ४० हजार रुपैयाँ कमाइ हुने भन्दै फेसबुकबाट विज्ञापन गर्थे । त्यसरी धेरैजना सम्पर्कमा आउँथे । उनीहरूलाई परामर्श गरी आकर्षित गर्थे ।
नेपालमा नेटवर्किङ व्यवसाय गैरकानुनी भएकाले सञ्चालकले भारतीय भूमि प्रयोग गर्दै आएका छन् । कम्पनीले पिरामिड शैलीमा सदस्य बनाउने गरेको थियो । पीडितका अनुसार सुरुमा एक हजार रुपैयाँ तिरेर फारम भर्नुपर्थ्यो । त्यसपछि १५ हजार रुपैयाँ तिरेपछि सदस्यता पाइन्थ्यो । सदस्य बनेपछि पचपेडवामा ४ दिनको आवासीय तालिम हुन्थ्यो । त्यहाँ सदस्यलाई कम्पनीका लाभबारे सिकाइन्थ्यो ।
एक जनाले ५ जना सदस्य बनाउनुपर्थ्यो । ती ५ मध्ये एकजनाले फेरि ५ सदस्य बनाउनुपर्थ्यो । यसरी संख्या बढ्दै जान्थ्यो । सदस्य बढाउँदै गए पद बढुवा गर्ने बताइएको थियो । थोरै पारिश्रमिक थपिन्थ्यो । कम्पनीले सदस्यबाट विभिन्न औषधिजन्य र घरायसी सामग्री बिक्री गर्थ्यो । सदस्यले सामान खरिद गर्नुपर्थ्यो