गलत काम गर्ने त्रिविका कर्मचारीमाथि कडा कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

144

असार २५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयजस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवि नै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीलाई सचेत गराए । उनले विश्वविद्यालयभित्र कल्पनासमेत गर्न नसकिने खालका बेथिति भित्रिएकाे भन्दै दुःख व्यक्त गरे ।

बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।