तात्दै हिमनदीः बाढीको जोखिम बढ्यो

275

कान्तिपुर दैनिक
जेठ २९, काठमाडौँ । खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । हिमनदीको दुई सय मिटर गहिराइसम्म प्वाल पारेर पहिलो पटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो । यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले बाढीको जोखिम देखिएको विज्ञहरूले बताएका छन् ।

अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ । तल्लो भेगमा साना पोखरी बन्ने क्रम बढेको छ । ‘खुम्बु क्षेत्रका हिमनदीभित्रको बरफ चिसो भेटिएन,’ अध्ययनमा संलग्न काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ रिजनभक्त कायस्थले कान्तिपुरसित भने,‘खुम्बु क्षेत्रका हिमनदीमा हामीले सोचेभन्दा पनि तातो बरफ भेटियो ।’ यसअघि ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदीको बरफ माइनस १० डिग्रीसम्म हुन सक्ने अनुमान थियो ।

नेपालभरि हिमनदी ३ हजार ८ सय ८ र हिमताल १ हजार ४ सय ६६ वटा छन् । हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतहतर्फ सरेर बग्ने गर्दछ, त्यसलाई हिमनदी भनिन्छ । हिमनदीको बहाव अन्य नदीको जस्तो तीव्र नभई सुस्त हुन्छ । खुम्बु विश्वकै सबभन्दा उचाइमा रहेको हिमनदी मानिन्छ । हिउँ र हिमनदी पग्लिएर बनेको ताल हिमताल हो ।

पछिल्लो अध्ययनले नेपालको औसत तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको छ । हिमाली क्षेत्रमा वृद्धिदर विश्व औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ ।