Sunday, September 27, 2026
Home पत्रपत्रिका युवा संघ कि वाइसिएलः नाममा नै विवाद

युवा संघ कि वाइसिएलः नाममा नै विवाद

276

शुरोजङ्ग पाण्डे ( नयाँ पत्रिका)
जेठ २९,
माथिको सर्कुलर नआएसम्म मानिन्न : वाइसिएल समूह
घोषित नाम नै अन्तिम हुनुपर्छ : युवा संघ समूह

काठमाडौं । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाइसिएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले युवा संघ नेपाल नामको निरन्तरतामा अडान राखेको छ । युवा संघ नेपाल तत्कालीन एमालेनिकट युवा संगठनको नाम हो । नेकपाका जनवर्गीय संगठनहरूको एकता घोषणा कार्यक्रममा ‘युवा संघ’ नाम नै घोषणा गरिएको थियो । तर, तत्कालीन माओवादीनिकट युवा नेताहरूले सो नाम स्विकारेका छैनन् ।

‘पार्टी महासचिवले नै यसबारे थप छलफल गरौँला भन्नुभएकाले सर्कुलर नआएसम्म संगठनको नाम आधिकारिक रूपमा टुंगिएको हामीले नमानेका हौँ,’ वाइसिएलका पूर्वमहासचिव सुवोधराज श्रीपाइलीले नयाँ पत्रिकासँग भने, ‘विधान मस्यौदा कार्यदल र पार्टी एकीकरण कार्यदलले युवा संगठन नेपाल र राष्ट्रिय युवा संगठन नेपालमध्ये जुनसुकै नाम राखे पनि उपयुक्त हुने गरी प्रतिवेदन बुझाएका थियौँ, तर त्यसभन्दा फरक नाम घोषणा भएकाले सर्कुलर नआएसम्म पर्खौँ भन्ने हाम्रो आग्रह हो ।’ एमालेनिकट युवा नेता नरेश शाहीले भने पार्टीले घोषणा गरेको नाम परिवर्तन नहुने दाबी गरे । ‘महासचिवले पार्टी निर्णयका आधारमा नाम, नेतृत्व र संख्या घोषणा गरिसकेपछि त्यसैलाई आधिकारिक मान्नुपर्छ, नेतृत्व मान्ने, नामचाहिँ नमान्ने भन्ने तर्कै हुन सक्दैन,’ तत्कालीन युवा संघका महासचिवसमेत रहेका शाहीले भने, ‘उहाँहरूले पार्टी महासचिवको सर्कुलरसम्म पर्खौँ भन्नुभएको छ, तर अब परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’