सम्झनामा एउटा लडाकु

256

-युवराज दुलाल ‘शरद’

काठमाडौं । कुन आमाले आफ्नो सन्तानलाई गुमाएको सहजै स्विकार्ला र रु त्यसै भएछ । ममी ९सीता दाहाल०ले तिमीलाई बेहोस भनेर उपचार गर्न नर्भिक अस्पताल पठाउनुभएको थियो । तर, तिम्रो शरीरमा प्राण थिएन । तिमी त ३ मंसिर, २०७४ को कालो रातमाथि उषाका रक्तिम किरण नझर्दै, सिंगो देशलाई नै स्तब्ध पारेर चीर निद्रामा सुतिसकेका रहेछौ ।

तिम्रो निर्जीव शरीर थापाथलीको नर्भिक अस्पतालमा पुगिसकेको थियो । डाक्टरले मृत भनिसकेका थिए । चुनावी मैदानमा आफैँ उम्मेदवार म मेलम्चीमा थिएँ । मेरो मनले तिम्रो पार्थिव शरीरलाई भेट्ने हतारोमा नर्भिक अस्पताल जान मानेन र लाजिम्पाट मोडिएँ । जिउँदो प्रकाश खोज्न, जोसिलो प्रकाश खोज्न र मलाई शरद भनेर सम्बोधन गर्ने प्रकाश खोज्न तिम्रो बेडरुममा गएँ । जहाँ तिमीलाई साँझ ममीले खानपिन र दबाइको ख्याल गरी आराम गर्न लगाई आफ्नो कोठामा जानुभएको थियो । म त त्यहीँ पो प्रकाश भनेर खोजिरहेँ । तर, तिमी त्यहाँ थिएनौ । तिम्रो सम्झनामा पीडा थियो, चिटचिटाहट थियो र थियो समयको निर्मम प्रहारको अप्रिय सन्देश, हृदयविदारक चोट ।

अमर भयौ यार

तिमीलाई समाजवादी आन्दोलनमा अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वदायी भूमिका हुन्छ र त्यो महान् जिम्मेवारी पूरा गर्न आफ्नो महत्वपूर्ण सहयोगीको भूमिका रहेको कुरा पनि स्पष्ट नै थियो । संसारकै अग्लो शिखर सगरमाथामा कम्युनिस्ट पार्टीको रातो झन्डा, कार्लमार्क्स र प्रचण्डको तस्बिर बोकेर पाइला टेक्न सक्ने तिमीमा जोखिम लिने आँट र जस्तोसुकै कठिनाइमा धैर्य गर्ने अनुपम क्षमता थियो । सगरमाथा आरोहण गर्ने घोषणा गरेको दिन अध्यक्ष कमरेड प्रचण्डले मलाई बोलाएर ‘प्रकाश पनि सगरमाथा आरोहण गर्न सक्छ त’ भन्दा मैले ‘सक्नुहुन्छ, धेरै स्टामिना छ प्रकाशसँग’ भनेपछि तिमीले सगरमाथा चढ्ने अनुमति पाएका थियौ । तर, ३ मंसिर, २०७४ को बिहानको उज्यालो किन पर्खन सकेनौ ?

प्रकाश संसारको रीत यस्तै रहेछ, मरेपछि मूल्यांकन हुने । तिम्रो शवयात्राले त्यही पुष्टि गर्‍यो । ‘मान्छेले कमाउने मलामी हो’ भन्ने भनाइलाई मान्दा तिमीले धेरै कमाएका रहेछौ । थापाथली, पेरिसडाँडा हुँदै पशुपति पुगेको शोकाकुल मानवसागरलाई आफूबाट कसैले लुछेर लगेको प्रकाश फिर्ता हुन्छ कि भन्ने लालशा थियो । आर्यघाटमा जब तिम्रो बुबा अध्यक्ष प्रचण्डले सारा पीडा सहेर ‘सारा नेपाली युवा मेरा प्रकाश हुन्’ भन्दै दागबत्ती दिनुभयो, तिमी त प्रिय भएर गयौ, सबै युवाको ढुकढुकीमा बसेर गयौ, अमर भएर गयौ, यार ।

गतिशील र सरल प्रकाश

प्रकाश तिमी त बलवान् थियौ, यार । माक्र्सवादी विश्व दृष्टिकोणमा स्पष्ट र भौतिक रूपमा पनि सबल थियौ । आत्मबल बलियो थियो । गोलीका माला गलामा भिरेर मेसिनगन बोकेर बंकरमा अध्यक्षलाई सुरक्षा दिँदै हिँडेको, शान्ति प्रक्रियाका सुरुवाती वर्षका भीषण चुनौतीको सामना गरेको होइन ? सुख भोग गर्न तिमीलाई सयौँ विकल्प थिए । औपचारिक पढाइ बीचमै छाडेर ‘मरे मर्छु’ भन्दै बन्दुक बोक्न रोल्पा गएको तिमी बाँचेर आएका थियौ । शान्ति प्रक्रियामा तिमीलाई कति ‘अफर’ थिए, कोही पाइलट सिक्न रुस बोलाउँथे, कोही बिजनेस गर्न बेलायत त कोही घुमघाम गर्न अमेरिका । तर, नेपाली जनयुद्धका लक्ष्य पूरा गर्ने आन्दोलनमा तिमीले आफ्नो भूमिका खोजिरह्यौ र ती सबै सुविधाका ‘अफर’लाई तिरस्कार गर्‍यौ ।

मान्छे हुनुको नाताले प्रकाशको पनि जीवनमा विभिन्न चुनौती आए र कमजोरी पनि भए । कम्युनिस्ट पार्टीको शक्तिशाली अध्यक्षको छोरा, दुईपटक देशको प्रधानमन्त्री भएको राजनेताको छोरा भएर पनि प्रकाशमा सर्वहारावर्गीय चेत सुरक्षित नै थियो । पार्टी अध्यक्षको सचिवालयमा बसेर प्रकाशले अध्यक्षको जुत्ता पालिस गर्नेदेखि ‘मिडिया कोअर्डिनेसन’ गर्ने, कार्यकर्ताको समस्यालाई सम्बोधन गर्ने, अध्यक्षको कार्यक्रमको व्यवस्था गर्नेदेखि कूटनीतिक निकायका प्रमुख, भिभिआइपीसँग समेत नियमित सम्पर्कमा रहेर काम गर्ने प्रकाश आममानिसले अनुमान गर्नेभन्दा धेरै नै गतिशील र सरल थिए । नेपालको राजनीतिक परिवर्तनको अग्रभागमा हुने सबै युवाको जत्तिकै भूमिका थियो, प्रकाशको । उनी एउटा सच्चा लडाकु थिए । जिउँदो छँदा बुबा अध्यक्ष प्रचण्डसँग जोडेर उनको स्वतन्त्र योगदानलाई ओझेल पारियो । अब त उनको सही मूल्यांकन गर्नुपर्दछ । पहिलो वार्षिक स्मृतिमा हार्दिक श्रद्धाञ्जली प्रकाश ।

-नयाँ पत्रिका दैनिक