नेसन्स लिगको फाइनल आज, नेदरल्यान्ड्सलाई रोनाल्डोको चुनौती

216

एजेन्सी, जेठ २६,
काठमाडौँ । युइएफए नेसन्स लिगको फाइनल भिडन्तमा आज राति सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल र नेदरल्यान्ड्स भिड्दैछन् । पोर्चुगलमा हुने यस खेलमा दुवै टिमलाई उत्तिकै उपाधि दाबेदार मानिएको छ । दुवै टिममा उत्तिकै स्टार र प्रभावशाली खेलाडी छन् । सो खेलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भने आफू देशलाई दोस्रो अन्तर्राष्ट्रिय उपाधि जिताउन तयार रहेको बताएका छन् । उनले आफ्नो टिमका सबै खेलाडी अहिले मानसिक र शारीरिक रूपमा फिट रहेकाले आफूहरू उपाधिको दाबेदार रहेको बताए । ‘मैले मेरो करिअरमा देशका लागि दुई फाइनल खेलें । र, यो तेस्रोपटक हो,’ रोनाल्डोले भने, ‘म तेस्रो फाइनल जितेर देशलाई अर्को उपाधि दिलाउन चाहन्छु ।’

रोनाल्डोले आफ्नो टिमले सबै हिसाबले उपाधिका लागि योगदान दिने बताए । ‘हामीलाई यो उपाधिको महत्त्व थाहा छ । मेरो सिंगो टिमले यसमा सम्पूर्ण योगदान दिनेमा म विश्वस्त छु,’ रोनाल्डोले भने । रोनाल्डोले नेदरल्यान्ड्स निकै बलियो टिम भएकाले जित्न सहज नहुने पनि बताए । ‘उनीहरू निकै बलिया टिम हुन् । उनीहरूसँग राम्रा खेलाडीको सेट छ,’ रोनाल्डोले भने, ‘तर, हामीसँग पनि युवा र अनुवभी खेलाडीको संयोजन छ । हामी यी दुवै कुराको उपयोग गरेर खेल्छौं । उपाधि हाम्रो लक्ष्य हो ।’ यसअघि सन् २००४ मा युरो कपको फाइनलमा पोर्चुगल र ग्रीस भिड्दा त्यसबेला ग्रीसले १–० ले जितेको थियो । त्यसपछि रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरो कप खेल्दा पोर्चुगलले फ्रान्सलाई उसकै घरमा १–० ले हराएर उपाधि जितेको थियो ।