पुनर्निर्माणका लागि एक खर्ब ४१ अर्ब रुपैयाँ

115

जेठ १६,
काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माणका लागि एक खर्ब ४१ अर्ब बजेट विनियोजन गरिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको बाँकी काम आगामी बर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
बजेटमा छुट भएका वास्तविक लाभग्राहीको पहिचान गरी अनुदान वितरण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । हाल त्यस्ता लाभग्राहीको पहिचान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण गरिरहेको छ । निजी आवास पुनर्निर्माण सम्पन्न गर्न ५८ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, भूकम्पले क्षतिगस्त ऐतिहासिक एवं साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण आगामी दुई वर्षभित्र सक्नेगरी आवश्यक बजेट छुट्याइएको बताइएको छ । सम्पदाहरुमध्ये यसै वर्ष निर्माण सुरु भएको ऐतिहासिक धरहरा पुनर्निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्न आागमी वर्षका लागि रु। १ अर्ब विनियोजन गरिएको छ । बजेटमा पुनर्निर्माण भइरहेका र पुनर्निर्माण हुन बाँकी विद्यालयहरुको पुनर्निर्माणलाई तिव्रता दिइने उल्लेख छ । विद्यालयको भौतिक संरचना निर्माणमा स्थानीय समुदायसँग साझेदारी गरिने नीति बजेटले लिएको छ ।