सरकारद्धारा आर्थिक सर्वेक्षण सार्वजनिकः के–के भयो प्रगति ?

139

जेठ १३,
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गर्नुभयो । उहाँले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हुने दावी पनि गर्नुभयो ।

सर्वेक्षणमा आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको उल्लेख गरिएको छ । अर्थमन्त्री खतिवडाले कूल ग्राहस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता समेत बढेको बताउनुभयो ।

उहाँले विगतका धेरै दशकयता पहिलो पटक आन्तरिक बचतले कूल ग्राहस्थ उत्पादनको २० प्रतिशत नाघेको उल्लेख गर्दै यसले राष्ट्रिय पूँजी निर्माणका लागि उल्लेख्य योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो । सर्वेक्षणमा आन्तरिक तथा बाह्य लगानीका लागि आकर्षित गर्न भएको नीतिगत एवम् कानुनी सुधारको परिणाम दिगो तथा उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै आएको दावी गरिएको छ ।

अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार एवम् उर्जा तथा भूकम्पपछिको पुननिर्माणले सामाजिक तथा भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गएको देखिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले उच्च आर्थिक वृद्धि, सामाजिक तथा आथिृक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिवी क्रमिक रुपमा घट्दै गएको बताउनुभयो । सर्वेक्षणमा निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा कूल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खरव ५७ अरव पुग्ने अनुमान गरिएको पनि बताउनु भयो । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २ दशमलव २ प्रतिशतले वृद्धि भई ५ खरव ४१ अरव पुगेको पनि सो आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा वित्तिय क्षेत्र स्थायित्वका सूचकहरु सवल रहेका पनि दावी गरिएको छ ।

अर्थमन्त्री खतिवडाले निर्यात व्यापार केही बढन गएको पनि बताउनु भयो । आर्थिक वर्ष २०७५÷७६ को अवधिमा व्यापार घाटा ८ खरव ८८ अरव रहेको छ । अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष भित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न हुने पनि बताउनु भयो । त्यसैगरी पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम पनि तीव्रताका साथ अघि बढाएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको कामले तीव्रता पाएको, नेपालमा आएका पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको तथा ३ वटै तहमा कर्मचारी समायोजनपछि संघीयता कार्यान्वयनमा सहजता आएको पनि बताउनुभयो ।

के–के भयो प्रगति ?

बीमा पहुँच – १८ प्रतिशत जनसंख्यामा

बैंकको शाखा संख्या – ४,७०१ ओटा ९७५३ मध्ये ७१३ स्थानमा०

विद्युत्को पहुँच पुगेको जनसंख्या – ७७।८ प्रतिशत

नवीकरणीय उर्जा पहुँच पुगेको जनसंख्या– १८ प्रतिशत

कुल विद्युत् उत्पादन– १,१४२ मेगावाट

सडक– ३१,३९२ किमी

कालोपत्रे – १४,१०२ किमी

खण्डस्मित सडक– ७,८८१ किमी

कच्ची सडक– ९,४०१ किमी

कुल पर्यटक आगमन – ११ लाख ७३ हजार

भूकम्पपछिको पुनर्निर्माण

६ लाख ५ हजार निजी घर

२६२ सरकारी भवन

४,२०१ विद्यालय

६४३ स्वास्थ्य संस्था भवन

२२१ पुरातात्विक सम्पदा

१२४ सुरक्षा निकायका भवन