क्षेत्रीय अस्पताललाई छुट्याएको बजेट नौ महिना पनि पुगेन

57

चैत १५, नयाँ पत्रिका,
कास्की -रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सरकारद्वारा घोषित राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट अभाव भएको जनाएको छ । कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट आर्थिक वर्ष सुरु भएको नौ महिनासम्म पनि निकासा नहुँदा अस्पतालमा रकम अभाव भएको हो ।

आमा सुरक्षा, पोषण गृह सञ्चालन, नवजात शिशुको एनआइसियू कार्यक्रम र एचआइभी एड्स, ओएसकेलगायत कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखी राष्ट्रिय कार्यक्रमका रूपमा बजेट विनियोजन गरेको थियो । तर, विनियोजित बजेट नौ महिना बित्न लाग्दा समेत नआएको अस्पतालका निर्देशक अर्जुन आर्चायले बताए ।

क्षेत्रीय अस्पतालमा हरेक वर्ष आठ हजारको हाराहारीमा सुत्केरी गराउन आउँछन् । सुत्केरी हुँदा उनीहरूलाई लाग्ने औषधि र उपचारसँगै घर फकर्ने वेला यातायात खर्चबापत दुई हजार रुपैयाँ दिनुपर्ने उनले बताए । हाल अस्पतालको बचत रकमबाट उनीहरूलाई यातायातबापतको रकम दिँदै आएको र औषधिका लागि अस्पतालको फार्मेसीबाट ल्याउने गरिएको छ । सुत्केरी गराउँदा सरदर प्रतिमहिला नौ हजार खर्च लाग्ने उनको भनाइ छ । बचत रकमसमेत सकिन लागेकाले सरकारले घोषणा गरेको कार्यक्रम रोक्नुपर्ने अवस्था आएको आचार्यले बताए ।

अस्पतालको पोषण गृहमा १२ र एनआइसियू कक्षमा १५ शड्ढया सञ्चालनसँगै कार्यरत कर्मचारीको सेवा–सुविधासमेत अस्पतालले बचत रकमबाट खर्च गर्दै आएको छ । एचआइभी एड्स ओएसकेका लागि दैनिक एक सयजनाले नियमित मेथाडोन सेवन गर्दै आएका छन् ।

साढे ६ करोड बजेट आएन
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लेखाप्रमुख इन्द्रप्रसाद पौडेलका अनुसार आमा सुरक्षा, पोषण गृह सञ्चालन, नवजात शिशुको एनआइसियू कार्यक्रमका लागि ५ करोड ९६ लाख, एचआइभी एड्स ओएसकेका लागि करिब ३० लाख र अन्य गरी करिब ६ करोड ५० लाख रकम स्वास्थ्य विभागबाट आएको छैन । पौडेलले भने, ‘हामीसँग केही बचत रकम भएकाले मात्र सेवालाई निरन्तरता दिइरहेका छौँ, बचत रकम नभएको भए सेवा बन्द गर्नुपर्ने अवस्था आउँथ्यो ।’ सयअघि आर्थिक वर्ष सुरु भएसँगै सबै शीर्षकको एकमुष्ठ रकम आउने गरेको लेखाप्रमुख पौडेलको भनाइ छ ।