आठौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु

54

चैत १४,
काठमाडौँ -नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि शुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा शुरु भएको मेलामा २२५ बिक्री तथा प्रदर्शनी कक्षमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहेको छ । मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता छ ।

मेलामा ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १०, बङ्गलादेशका ४० र पाकिस्तानका दुई स्टल रहेका छन् । मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, नेपाल व्यापार एकीकृत रणनीति, २०१६ मा समेटिएका अदुवा, चिया, पस्मिनालगायत नेपाली उत्पादन रहेको महासङ्घको व्यापार मेला समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले मेलाकै क्रममा अन्तर्राष्ट्रिय खरीदकर्तासँग प्रत्यक्ष अन्तक्र्रिया गराउने लक्ष्य रहेको उल्लेख गर्दै चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग शुक्रबार बृहत् अन्तक्र्रिया, व्यावसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षरसमेत गरिने बताउनुभयो । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे समेत छलफल गरिने उहाँले बताउनुभयो ।

वैदेशिक लगानी भित्र्याउन सरकारले आयोजना गर्ने लगानी सम्मेलनका क्रममा नेपालमा आएका विदेशी उच्च प्रतिनिधिमण्डलले मेलाको अवलोकन गर्ने र मेला अयोजनाकै अवधिमा नेपालमा लगानी सम्मेलनसमेत आयोजना गरिएकाले व्यापार मेलाको महत्व अझ वृद्धि हुने बताइएको छ । वर्षेनी आयोजना हुने यसप्रकारका मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गरी मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने महासङ्घले विश्वास लिएको छ ।

मेला यही चैत १८ गतेसम्म चल्नेछ । मेलाको आज एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।-रासस