Thursday, September 24, 2026
Home समाचार ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको घरमा खानतलासी

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको घरमा खानतलासी

83

चैत १४,
काठमाडौं -ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको चाबहिलस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ । आज बिहान ८ बजे नेपाल प्रहरीका ६ जनाले उनको घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको हो । प्रहरीले खानतलासी गर्दा नेपाल भने घरमा थिएनन् । नेपाल स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा ग्रेटर नेपालको वकालत गरेर केही दिनअघि मात्रै फर्केका थिए ।

प्रहरीले उनको घरमा खानतलासी गर्नुको कारण भने आजै नेपाल आउँदै गरेका भारतीय विदेश सचिव विजय गोखलेविरुद्धको सम्भावित प्रदर्शन बुझिएको छ ।

उनले खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् । ‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा प्रशासन स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकारको पनि हनन भएको छ,’ नेपालले फेसबुकमार्फत भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’

उनले भारतबाट उच्चस्तरीय भ्रमणहरु हुँदा एयरपोर्टमा कालो झण्डा देखाउने गरेका थिए । उनले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर लामो समयदेखि अभियान जारी राख्दै आएका छन् ।-राजधानी