नेपाल एयरलाइन्सले गर्यो बन्दाबन्दीमा सर्वाधिक उडान

190

जेठ ११,
काठमाडौं । नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात कार्गो चार्टडसहित) १५ अन्तर्राष्ट्रिय उडान गरेको छ । जुन नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा प्रदायक कम्पनीमध्ये निगम पहिलो स्थानमा पर्छ । कतार एयरवेजले ११ चार्टर्ड उडान गरेको छ । उक्त अवधिमा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले पनि सर्वाधिक १० कार्गो चार्टर्ड उडान गरेको छ । बुद्ध एयरले तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेको छ भने आन्तरिक उडानको श्री एयरलाइन्सले पनि चीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेको छ ।
त्यसैगरी बन्दाबन्दीको अवधिमा एयर इण्डिया, चिनियाँ एयर फोर्स, एयर चाइना, पाकिस्तान एयर, एयर अरेबिया, मलेसियन एयर, मालिन्दो एयर, एयर थाइलाइन एयर, इतिहाद, श्रीलङ्का एयरवेज, जर्नी एभिएसन, रोयल फ्लाई एयर, टाइटन एयर र कोरियन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि निगमले ११ वटा चार्टर्ड उडान गरेको छ । निजी क्षेत्रका यति एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स, समिट एयरलगायतले पनि आन्तरिकतर्फ केही सङ्ख्यामा चार्टर्ड उडान गरेका छन् ।

विसं २०७६ चैत १० देखि २०७७ जेठ ९ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६६ अन्तर्राष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसबाहेक १७ कार्गो उडान भएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बन्दाबन्दीको अवधिमा नेपाल एयरलाइन्सले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको बताए​ । हिमालय एयरलाइन्सले पनि पछिल्लो समय चीनका विभिन्न शहरमा सर्वाधिक कार्गो उडान गरिरहेको छ । हिमालयको एयरबस ए ३२० जहाजले आज पनि चीनको चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन त्यसतर्फ गएको छ ।

नेपाल एयरलाइन्सले चीनको ग्वाङ्जाओ र बेइजिङबाट मात्रै आठ कार्गो उडान ग¥यो भने हिमालयले पनि ग्वाङ्जाओ, बेइजिङ, चाङ्सालगायत शहरबाट कार्गो उडान गरी अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । नेपाल एयरलाइन्स र कतार एयरवेजले आज राति थप एक÷एक उडान गर्दैछन् ।
सरकारले कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि गत चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । पछिल्लोपटक जेठ २० सम्मका लागि बन्दाबन्दीको अवधि थपिएको छ । त्यस्तै चैत १० बाट नेपालमा उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको उडान स्थगन गरिएको छ । यो अवधि जेठ मसान्तसम्म लम्ब्याइएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् ।

नेपाल एयरलाइन्सले नेपालमा बन्दाबन्दी शुरु हुनुअघि नै कोभिड(१९ को उद्गमस्थल चीनको हुवेई प्रान्तको वुहान शहरबाट पहिलोपटक उद्धार उडान गरी १७५ नेपाली काठमाडौँ ल्याएको थियो । त्यसयता बन्दाबन्दीको अवधिमा उडान सारथी बनिरहेको निगमले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडानलाई निरन्तरता दिएको छ । -रासस