‘देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउँछौं’

114

मंसिर ६,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुर्याईएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले वर्तमान सरकारले जनताको हितमा एउटापनि काम गर्न नसकेको गम्भिर आरोप लगाईन् । उनले भने,‘म आँफै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ । र, उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ । यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सिमा नै छैन् । साँच्चि भनेको मैले त कल्पना पनि गरेको थिईंन कि नेपालमा यत्रो भ्रष्टाचार, यति फाष्ट भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहीँ देशको लागि खतरनाक हो ।’
आफूहरुले यसलाई गम्भिर भएर समाधान गर्न नसके मुलक गम्भिर समस्यामा जाने उनको चिन्ता छ । उनले भनिन्,‘यो सब कारण नेपाली कांग्रेस कमजोर भएर नै हो । त्यसैले अब हामी गम्भिर हुनुपर्यो । हामी नेपाली कांग्रेस अब अगाडि बढ्छौं । अब यो देशको रक्षा गर्छौं । देशमा सुरक्षा दिन्छौं । र, यो देशको विकास पनि गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । अब प्रतिबद्धताहरु पूरा गरेर देखाउँछौं ।’