राष्ट्र भाषा संरक्षणमा विदेशी बुद्धिजीवीको चासो

204

साउन १०,
केके मानन्धर
काठमाडौं । नेपालमा बोलिने अधिकांस राष्ट्र भाषा लोप हुने स्थितिमा पुगेकोप्रति विदेशी बुद्धिजीवीहरुको समेत ध्यानाकर्षण भएको छ । सोहि क्रममा फ्रान्सेली नागरिक डा. फ्रेडरिक मोरोन्भालले राष्ट्र भाषा संरक्षणको उपायसहितको अभिलेखीकरण सार्वजनिक गरे । काठमाडौंमा भएको एक कार्यक्रमकाबीच उहाँले “नेपालभाषा र बुद्धधर्मको लागि नेवारहरुको अभियान” नामक विद्यावारिधि शोधग्रन्थलाई किताबको रुपमा सार्वजनिक गरे । अंग्रेजी भाषाको अभिलेखीकरणलाई विष्णु चित्रकार तथा सिचु चित्रकारले नेपालभाषामा उल्था गरेका छन् ।

“म नेवार, तर मलाई मेरो मातृभाषा बोल्न आउँदैन । बाटोमा भेटिएका नवयुवाको यस्तो भनाइबाट प्रभावित भएर मैले यो सोधग्रन्थ तयार गरेको छु ।” डा. फ्रेडरिकको भनाइ उदृध गर्दै किताबलाई उल्था गरेका विष्णु चित्रकारले बताए । फ्रान्सका बुद्धिजीवी फ्रेडरिकले चार वर्षको नेपाल बसाइको क्रममा सोधग्रन्थ तयार गरेका हुन् । शुरुका समयमा पुतली सडकस्थित ल्याङ्ग्वेज सेन्टरमा फ्रान्सेली भाषा सिकाउने उहाँले नेपालका राष्ट्र भाषा लोप भइरहेकोप्रति चिन्तित भएर किताब तयार गरेका हुन् । उहाँले तयार गरेको किताबमा नेपालका १२३ राष्ट्र भाषा मध्ये निश्चित ठाउँमा बहुसंख्यक नागरिकले बोल्ने भाषालाई पाठ्यक्रममा समावेत गर्न सुझाएका छन् । भाषा प्रयोग सम्बन्धिको सरकारी नीतिलाई सुधार गरी संरक्षण अभियानमा लाग्नुपर्ने पनि औंल्याइएको छ ।

कार्यक्रममा सहभागी वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालभाषा र बुद्धधर्म, समग्र नेपालको सम्पत्ति भएकोले राज्य स्तरबाटै संरक्षण अभियान थाल्न आग्रह गरे । नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने बुद्धधर्म र बहुभाषी नेपालको रुपमा समृद्धिको पहिचान स्थापित गर्ने आधारलाई बचाइ राख्नुपर्नेमा जोड दिए । त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. नरेशमान वज्राचार्यले संचारमैत्री नभएर नेपालका धर्म, संस्कृति र भाषामा समस्या देखिएको बताए । विशेषगरी नेपालको

मौलिक धर्मको रुपमा रहेको बज्रयानी बुद्ध धर्ममा गोप्य तन्त्र साधन रहेका छन् । निश्चित व्यक्तिले मात्र थाहा पाउनुपर्ने भएर मौलिक बुद्ध धर्मलाई अन्तराष्ट्रिय स्तरमा यथोचित प्रचार गर्न सकिएको छैन । यी मान्यताका कारणले पनि थप अध्ययन र अनुसन्धानमा प्रभावित भइरहेको बताए । कार्यक्रममा फ्रान्सया काउन्सिलर आर्नो सम्पि, जनकवि दुर्गालाल श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दर, पत्रकार, साहित्यकार लगायतको सहभागिता थियो ।