धमाधम नयाँ विमान भित्र्याउँदै वायु सेवा प्रदायक

418

बैशाख २०,
काठमाडौं । आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् । निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, धनगढी, नेपालगञ्ज र भैरहवामा नियमित उडान गर्ने लक्ष्यका साथ ठूला जहाज ल्याउन लागिएको विमान सेवा प्रदायक कम्पनीले जानकारी दिएका छन् ।
वायु सेवा प्रदायकले धमाधम नयाँ ठूला विमान भित्र्याउन थालेपछि विमानस्थलमा जहाजको चाप पर्ने देखिएको छ । विमानस्थलमा बिसानस्थलको अभाव रहेको छ । विमानस्थल प्रशासनलाई सहज रुपमा जहाज उडान तथा अवतरणको व्यवस्था मिलाउन समेत हम्मेहम्मे पर्ने अवस्था आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ठूला जहाज आउँदा सेवा विस्तारमा सहजता उपलब्धता हुने भए पनि बिसान तथा उडान अवतरणमा भने चाप पर्ने देखिएको बताउनुभयो ।

विमानस्थलमा साना तथा ठूला गरी ३० जहाज बिसान गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने जहाज भने छ मात्रै बिसान गर्न सकिन्छ । नयाँ विमान थपिनेबित्तिकै बिसानस्थल उपलब्ध गराउन समस्या पर्ने देखिएको छ । नेपाल वायु सेवा निगमले हालै मात्रै चीनमा निर्मित कूल छ जहाज भित्र्याइसकेको छ । त्यसमा दुई एमए ६० र चार वाई १२ जहाज छन् । ती जहाज सुगम तथा दुर्गम गरी २३ गन्तव्यमा उडान गर्ने तयारी गरेको छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।