नेपालमा गाई–वस्तु दुहुने यन्त्रको प्रयोग बढ्दै

184

बैशाख १४,
ललितपुर । एकै पटकमा धेरै गाईको दूध दुहुुनका लागि किसानले ‘मिल्किङ पार्लर’ को प्रयोग शुरु गरेका छन् । केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ । व्यावसायिक रुपमा १० वा त्योभन्दा बढी गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् ।
एकपटकमा १० वटासम्म गाई दुहुने यन्त्र नेपाल भित्रिएका छन् । यी उपकरणका कारण जनशक्ति बचत हुने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ ।”
दूधलाई सफा बनाउनका लागि पनि मिल्किङ पार्लरले सहयोग गर्ने डा झाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “किसानले गोठको अरु काम सकेर दूध दुहुँदा हात सफा नहुन सक्छ तर यन्त्रले गर्दा दूध सफा हुने बढी सम्भावना हुन्छ । धेरै संख्यामा पशु पाल्नेका लागि मिल्किङ पार्लर सजिलो भएको किसानले बताउँदै आएका छन् । हातले दुहुँदा किसानले दूध सबै दुहुन नसके पनि उपकरणले सबै निखार्छ । शहरी क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या बढ्दा विभिन्न उपकरणको प्रयोग बढ्दो छ । पशुपालनमा प्रयोग हुने उपकरण ग्रामीण क्षेत्रसम्म भने फैलन सकेको छैन ।