उपत्यकाब्यापी भलिबल प्रतियोगिताको तयारी पूरा

247

फागुन २२,
भक्तपुर । फागुन २४ देखि २७ गतेसम्म हुने चौथो आदर्श ज्योति(एजे) कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । भलिबल खेलका राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति स्कूलले गर्न लागेको विद्यालयस्तरीय एजे कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको विद्यालयले जनाएको छ । सरकारले भलिबललाई राष्ट्रिय खेल बनाइसकेको अवस्थामा खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि गर्न लागेको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा छात्र र छात्रा विद्यार्थीबीच छुट्टै प्रतिस्पर्धा हुनेछ ।
‘विं.सं. २०७१ सालदेखि प्रतियोगिता गर्दै आएका छौं, यसले विद्यालयलाई मात्र नभएर विद्यार्थीलाई पनि फाइदा पुगिरहेको छ, विद्यार्थीलाई स्वस्थ बनाउन, विभिन्न कुलतबाट टाढा राख्न र पढाइप्रति लगाव बढाउन खेलकुद सहायकसिद्ध भएकोले खेलअन्तर्गत भलिबल प्रतियोगतालाई निरन्तरता दिइरहेका हौं ।’ पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले भने ।
सम्मेलनमा विद्यालयका ईसिए इन्चार्ज एवं प्रतियोगिता संयोजक रामकुमार रानाले विद्यालयस्तरीय उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका गरी ११ विद्यालयको सहभागिता रहेको जानकारी दिए । एजे स्पाट्र्स क्लबको विशेष सहयोग रहेको सो प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ७ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । खेलमा छात्रतर्फ ९९ जना र छात्रातर्फ ६६ गरी कूल १६५ खेलाडीहरु रहेका छन् ।
प्रतियोगिताअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था रहेको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु. १० हजार, द्धितीय हुने टीमले रु. ५ हजार र तृतीय हुने टीमले रु. ३ हजार नगद पुरस्कार पाउनेछ । नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार प्रतियोगिता हुने आयोजकको भनाइ छ । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरी पुरस्कृतसमेत गरिने छ । पत्रकार सम्मेलनमा भलिबल खेलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले भलिबलको उत्थानको लागि गर्न लागिएको प्रतियोगिताको सफलताको कामना गरेका थिए ।