जेनिथ जित्यो अन्तर विद्यालय कपको उपाधि

263

फागुन १५, भक्तपुर । जेनिथ एकेडेमीले दोस्रो मध्यपुर थिमि नगरपालिका अन्तरविद्यालयस्तरिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर थिमि नगरपालिकाको मूख्य प्रायोजनमा मध्यपुर युथ एशोसियसनद्धारा आयोजित प्रतियोगिताको शनिवार सम्पन्न फाइनलमा जेनिथले विनायक शिक्षा निकेटनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
सानोथिमिस्थित एशोसियनको मैदानमा जेनिथका लागि खेलको ३२ औं मिनेटमा सुशिल तिमल्सिनाले गोल गरेका थिए । मैदानको बीच भागबाट एक्लै अगाडि बढाउँदै सुशिलले विनायकका तिन खेलाडीलाई विट गर्दै गोल गरेका थिए । निर्धारित ७० मिनेटको खेलमा त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन र खेल जेनिथले १–० ले आफ्नो पक्षमा पारे । उपाधिसँगै जेनिथले नगद ३० हजार रुपैयाँ हात पारे । उपविजेता विनायकले नगद १५ हजार रुपैयाँमा चित्त बुझाए ।
प्रतियोगितामा विनायकका सुनिल योञ्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । विनायककै सञ्जय प्रजापति उत्कृष्ट डिफेन्डर, सुप्रिम एकेडेमीका रिकेश थापा उत्कृष्ट मिल्डफिल्डर र उपाधि विजेता जेनिथका सुशिल तिमल्सिना उत्कृष्ट स्ट्राइकर र सुमन गिरी उत्कृष्ट गोलकिपर घोषित भए ।
विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरुलाई मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, मध्यपुर युथ एशोसियसनका अध्यक्ष एवम् पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंह, उपाध्यक्ष अष्टकुमार कवेलगायतले पुरस्कृत गरे । गत फागुन ५ गतेबदेखी सञ्चालन भएको प्रतियोगितामा २० वटा विद्यालयको सहभागिता रहेको थियो ।