सुरक्षा खर्चमा भारी वृद्धि गर्ने घोषणा

180

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनकै शब्दमा सुरक्षा खर्चका लागि ऐतिहासिक वृद्धि गर्ने बताएका छन्।
ह्वाइट हाउसका अधिकारीहरुले पेन्टागनका लागि अहिलेको बजेटमा झण्डै १० प्रतिशत अर्थात् करिब ५४ अर्ब डलर वृद्धि गर्न ट्रम्पले चाहेको बिबिसीले समाचार प्रकाशित गरेको छ । उनले आफ्नो प्रशासनले अर्को महिना बजेटको पहिलो प्रस्ताव संसदमा पेश गर्ने बताए।
राष्ट्रपति ट्रम्पले योजना गरेको बजेटलाई संसदले अनुमोदन गर्नुपर्नेछ।
वार्षिक खर्च सुरक्षा बजेट सन् २०१० यता घट्दै आइरहेको थियो र अब ट्रम्पले त्यसलाई बढाउन चाहेका छन्।
अमेरिकाले अहिले सुरक्षाका लागि वार्षिक ६ सय अर्ब डलर खर्च गरिरहेको छ।
तर अब ट्रम्पले उक्त खर्चमा ५४ अर्ब डलर थप्न चाहिरहेका छन् जुन अहिलेको भन्दा करिब १० प्रतिशत बढी हो।
पेन्टागनको बजेटमा यति रकम थपिँदा त्यो लगभग युद्धका बेला खर्च गरिने रकमको हाराहारी हुन आउँछ।
सुरक्षा खर्चका लागि बजेटमा हुने वृद्धिले विश्वलाई एउटा सन्देश दिने बताउँदै ट्रम्पले भने, ूयो एउटा ऐतिहासिक घटना हो। अमेरिकी शान्ति, सुरक्षा र संकल्पबारे अहिलेको खतरनाक समयमा यसले विश्वलाई एउटा सन्देश दिनेछ।ू
सुरक्षाका लागि वृद्धि गरिने उक्त खर्च वैदेशिक सहायता तथा वातावरण संरक्षण जस्ता गैरसैन्य कार्यक्रममा कटौती गरेर जुटाइने देखिएको छ।
तर बीबीसी संवाददाताले भनेका छन्, ट्रम्पले केवल बजेटबारे सुझाउन मात्रै सक्छन् त्यसको अनुमोदन भने संसदले गर्नुपर्ने भएकोले त्यहाँसम्म पुग्न अझै लामो बाटो तय गर्नुपर्नेछ। यसैबीच रक्षा मन्त्रालयले ट्रम्पको आदेश बमोजिम इस्लामिक स्टेटसँग कसरी लड्ने भन्ने योजना ह्वाइट हाउसलाई बुझाएको छ।
घरेलु कार्यक्रमहरुमा कटौति गर्ने उनको प्रस्तावबारे उनले डेमोक्रेटिक र केही रिपब्लिकनहरुबाट चर्को आलोचना खेप्नुपर्ने हुनसक्छ।